दुध र मासुको आत्मनिर्भरता बन्दै पथरीशनिश्चरे नगर - Nigranitimes

दुध र मासुको आत्मनिर्भरता बन्दै पथरीशनिश्चरे नगर

पुस २० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा दुध र मासुको आत्मनिर्भरताका लागि ६ वटा संस्थालाई कार्यक्रम स्वीकृत भएको छ ।

सरकारको सशर्त अनुदानको कार्यक्रम अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका लागि दोस्रो चरणको प्रस्तावनाका लागि आज सम्बन्धित ६ संस्थाका लागि पत्र प्रदान गरिएको छ । नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले नगरमा हाल दुध र मासुमा आत्मनिर्भरताको चरणमा रहेको अवस्थामा सो कार्यक्रमले थप प्रभावकारिता हाँसिल गर्ने विश्वास व्यक्त गरे ।

मासु उत्पादनका लागि वडा नम्वर १ को पूर्वी मोरङ बाख्रापालन कृषक समूह, पथरी कृषि सहकारी संस्था र ५ को विशाल बहुउद्धेश्यीय कृषक समूह तथा दुध उत्पादनका लागि १ को विहानी कृषि दुग्ध उत्पादक सहकारी, २ को चौतारी सामाजिक उद्यमी महिला सहकारी र ६ को रामजानकी दुग्ध उत्पादक सहकारीले कार्यक्रम प्राप्त गरेका हुन् ।

आयोजनाले ६ संस्थाका लागि कुल ४ करोड ३० लाख ७५ हजार रकम उपलब्ध गराउने छ भनें त्यसमा थप २० प्रतिशत सम्बन्धित संस्थाले लगानी गर्नुपर्ने र ३० प्रतिशत वित्तिय संस्थाको लगानी जुटाउनु पर्ने प्रावधान रहेको आयोजनाका पशुसेवा सामाजिक परिचालक चुडामणि वस्नेतले जनाए ।

त्यसरी त्रिपक्षीय लगानी जोड्दा ८ करोड ६० लाख ४० हजारको कार्यक्रम बनेको नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले कार्यक्रममा जानकारी गराए ।

सम्बन्धित खवर