प्रदेश संरचना भनेको संघीयताको मुटु हो –मुख्यमन्त्री राई - Nigranitimes

प्रदेश संरचना भनेको संघीयताको मुटु हो –मुख्यमन्त्री राई

पुस २३ गते, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताएका छन् । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भएपनि प्रदेश संरचना नयाँ भएको उनले बताए । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालय पुगेका मुख्यमन्त्री राईले प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताए ।

प्रदेश सरकारको मुटु पहिलो बर्ष राम्रै चलेपनि दोश्रो बर्षको अन्त्यदेखि समस्या देखिदै गएको आफुले पाएको उनले बताएका छन् । मुख्यमन्त्री राईले भने,‘चालु आर्थिक बर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।’ प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ उनले भने । समस्या पहिचान भएकाले उपचारको प्रकृया शुरु भईसकेको मुख्यमन्त्री राईको भनाई छ । उनले भने,‘ मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनु भएको छ ।’ मुटुको सफल उपचारपछि सरकारलाई गतिशिल बनाउने उनले बताए । क्रोनिक एकै पटक देखा नपरेको र आर्थिक मामिला मन्त्रालय कस्का कारण यो अवस्थामा आइपुग्यो भन्ने सवै रिपोर्टिङ आफुले पाएको बताए ।

सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागिय मन्त्रीलाई पटक–पटक सचेत गराएको उनले बताए । उनले मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न निर्देशन दिएका थिए । प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उनले बताए । प्रदेशमा प्रणालीको विकास गरि अनुसन्धानमा आधारित विकास कार्यअघि बढाईने र वित्तिय अनुशासन कायम राख्न मन्त्रालयका कर्मचारीलाई उनले निर्देशन दिएका थिए ।

पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिएपनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीहरुलाई उनले आग्रह गरे । मुख्यमन्त्री राईले भने,‘ प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।’ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उनले विश्वास व्यक्त गरे । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उनले बताए । आफु नेतृत्वको सरकार अघि बढ्ने बताउँदै उनले भने ‘ कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।’ उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई उहाँको आग्रह छ ।

सम्बन्धित खवर