महिला स्वास्थ्य स्वयमसेविकालाई अभिमुखिकरण कार्यक्रम - Nigranitimes

महिला स्वास्थ्य स्वयमसेविकालाई अभिमुखिकरण कार्यक्रम

पुस २६ गते, पथरी । अपाङ रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे नगरका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई गर्भवती महिला समक्ष जानकारी प्रदान गर्न मोवाइल सफ्टवेयर सञ्चालन सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ ।

करुणा फाउण्डेशन्, प्रदेश सरकार र नगरपालिका कार्यालयको सहकार्यमा सञ्चालन थालिएको ‘अपाङ रोकथाम तथा पुनस्र्थापना कार्यक्रम’ अन्तर्गत ‘मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाइल स्वास्थ्य कार्यक्रम’ का निम्ति नगरमा रहेका ३० जना महिला स्वास्थ्य स्वयमसेविकालाई अभिमुखिकरण कार्यक्रम राखिएको हो । त्यसका लागि उनीहरुलाई मोवाइल समेत वितरण गरिएको छ ।

स्वयमसेविकाहरुले टोल टोलमा गएर गर्भवती महिलाहरुलाई भेटी गर्भवती भएपछि स्वस्थ बच्चा जन्माउन गर्ने स्वास्थ्य प्रक्रियाका क्रियाकलापको जानकारी गराउन उनीहरुको मोवाइल नम्वर लिने गर्दछन् । अनि आफुले प्रयोग गरेको सफ्टवेयरको माध्यमबाट गर्भवती दर्ता गराउने तथा गर्भवती भएपछि स्वास्थ्य प्रक्रियाका क्रियाकलापको जानकारी भएको म्यासेज महिलाहरुलाई मोवाइलमा आउने गर्दछ ।

गर्भवती भएपछि कुन कुन समयमा कम्तिमा ४ पटक शिशुको अवस्थाको बारेमा जाँच गर्ने ? कति पटक के के खोप लगाउने ? कहिले बच्चा जन्मिन्छ लगायतका स्वास्थ्य प्रक्रियाका बारेमा गर्भवतीको मोवाइलको नोटिफिकेशनमा म्यासेज आउने गर्दछ । मेडिक मोवाइल नामक संस्थाले यसखाले सफ्टवेयर ल्याएको हो ।

कार्यक्रमका अध्यक्ष नगर प्रमुख दिलीपकुमार राईले महिला स्वास्थ्य स्वयमसेवकाहरुलाई मोवाइल वितरण गरे । उनले अपाङ्गता जन्मलाई शून्यमा झार्ने तथा बाल तथा मातृ मृत्युदर न्यून बनाउने लक्ष्य अनुसार यो सहित पूनस्र्थापनका कार्यक्रमहरु सञ्चालनमा ल्याइएको जनाए । सोही कार्यक्रम अन्तर्गत हाल वडा वडामा अपाङ्गता भएकाहरुका लागि विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

 

सम्बन्धित खवर