जलरङ्ग महोत्सवमा सहभागिहरू सुन्दर नगरप्रति आकर्षित - Nigranitimes

जलरङ्ग महोत्सवमा सहभागिहरू सुन्दर नगरप्रति आकर्षित

भूपेन्द्र तिम्सिना
माघ ३० गते, पथरी । सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरीशनिश्चरे नगरमा नगरपालिका कार्यालयको प्रमुख सहयोगमा फागुन १ र २ गते हुने जलरंग महोत्सवका लागि राजधानी काडमाडौं सहितका स्थानबाट आज कलाकार पथरीशनिश्चरे आइपुगेका छन् ।

पथरीशनिश्चरे नगरपालिका कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीय एभरेष्ट आर्ट फ्यूजनको मुख्य आयोजना र कला साहित्य प्रवद्र्धन समितिको सहआयोजनामा वडा नम्बर १ स्थित शान्ति भूल्के सिमसार क्षेत्रमा जलरंग महोत्सव हुन लागेको हो । कलालाई नगरको पर्यटन प्रवद्र्धनमा समेत जोडेर कला र पर्यटनको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको एभरेष्ट आर्ट फ्यूजनका अध्यक्ष षडानन्द सुवेदी निश्चलले बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न हुने छ । भोली विहानैदेखि हुने कार्यक्रमका लागि प्रमुख अतिथि कर्माचार्य सहितका कलाकारहरु काडमाडौं सहितका स्थानबाट शुक्रबार पथरीशनिश्चरे आइपुगेका छन् । कलाकारहरुले नगरको पर्यटनको प्रमुख आकर्षक केन्द्र शान्ति भूल्के सिमसारका साथै भूटानी शरणार्थी शिविरको पनि अवलोकन गर्दै पर्यटकीय क्षेत्रको सम्भावना रहेको नगरका रुपमा व्याख्या गरेका छन् ।

भक्तपुरका युवा कलाकार दिपेन्द्रमान बनेपालीले रमणीय नगरमा पर्यटन प्रवद्र्धनका लागि कलालाई समेत जोडेर अघि बढ्ने प्रयास सुरु भएकोमा खुसी व्यक्त गर्दै यसलाई आउँदा दिनमा थप व्यवस्थित गरेर कला पर्यटनको अवधारणामा अघि बढ्नु पर्ने बताए । काठमाडौंबाट आउनु भएकी अन्नपूर्णपोष्ट दैनिककी कला विटकी पत्रकार अजवि पौडेलले कला र पर्यटन एकापसमा सम्बन्धित भएको जनाउँदै दुवैको विकासमा नगरको प्रयासप्रति आफु प्रभावित भएको जनाए ।

कलाकारहरुसँग भेटघाटका क्रममा शान्ति भूल्के सिमसारको प्रवद्र्धन गर्दै आएको शान्ति सामुदायिक वन उपभोक्ता समूहकी सचिव मेनुका राईले वन समूहले पर्यटन प्रवद्र्धनसँगै सृजनालाई पनि जोडेर लाने प्रयास गरेको जनाए । कलाकारहरुको स्वागत गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवम् एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गीले नगरमा कला सृजनाका गतिविधि अघि बढाउँदै जाँदा नगरको पञ्चायत माविमा चालु शैक्षिकशत्रबाट कक्षा ११ र १२ मा प्रदेशमै पहिलो पटक फाइन आर्ट विषयको पढाइ सुरु गराउन सफल भइएको प्रसंग जानकारी गराए ।

‘शान्ति भूल्के सिमसार र नगरको प्रयास ः कला, संस्कृति र पर्यटन प्रवद्र्धनको आभास’ भन्ने नाराका साथ काठमाडौं, पोखरा, पाल्पा सहितका बरिष्ठ कलाकारका साथमा १ नम्बर प्रदेशका बरिष्ठ तथा उदयमान एवम् भारतका समेत कलाकारहरु सम्मिलित ‘पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७’ को आयोजना गरिएको छ ।

महोत्सवमा, जलरङ्ग कार्यशाला, ‘कला, संस्कृति र पर्यटन’ शिर्षकमा नगरका सामुदायिक माविस्तरीय चित्रकला प्रतियोगिता, अग्रज कलाकार र कलाप्रेमीलाई सम्मान तथा पुरस्कार वितरण, नेपालको चित्रकलाको इतिहास र वर्तमान विषयक गोष्ठी हुने भएको छ । गोष्ठीका वक्ताका रुपमा बरिष्ठ चित्रकार मुकेश मल्ल रहनेछ ।
फ्यूजनकी संस्थापक अध्यक्ष एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सरोजा खड्गीले आफ्ना आमा बुबाको नाममा स्थापना गरेर प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘विष्णु मीना ललितकला पुरस्कार’ समेत सोही कार्यक्रममा वितरण गरिने भएको छ । १० हजार राशी, मुहारचित्र र सम्मानपत्र रहेको सो पुरस्कार १ नम्बर प्रदेशका परम्परागत चित्रकलाका अगुवा विराटनगरका ध्रुवनारायण डंगोललाई प्रदान गरिने छ ।

जलरंग महोत्सवमा, जलरंग क्षेत्रका स्थापित कलाकारहरु पोखरका एनबी गुरुङ, पाल्पाका डीराम पाल्पाली, भक्तपुरका दिपेन्द्रमान बनेपाली, राजेन्द्रप्रसाद याकामी, आशुराम खाइजू, चितवनका डी बराल, संखुवासभाका डीबी याम्फूको अगुवाईमा प्रदेशका स्थापित कलाकारहरु सम्मिलित रहनु हुनेछ । जसमा, धनकुटाका डिल्लीकृष्ण आले, सुनसरीका जीवनाथ पोखरेल, प्रनोद दत्त, महेन्द्र राई, लेख मगर, झापाका पवन राजवंशी, युवराज रिजाल, छितेन शेर्पा, मोरङका शिव छाङछा राई, डा. विजुकुमार थपलिया र जयप्रकाश चौधरीले जलरंग चित्रकलामा आफ्नो सहभागिता जनाउने छ । उनीहरुले स्थानीय नवोदित जलरंग कलाकारका लागि उत्प्रेरणा भर्दै पथरीशनिश्चरेका पर्यटकीय तथा मौलिक पक्षहरुको चित्र उतार्ने छन् ।

तिनै कलाकारहरु फागुन ४ गते विरानगरमा ‘विराट राजदरवार ः इतिहास उजागर ’ भन्ने मर्मका साथ चित्रकला काब्यशालामा सहभागि हुने छन् । विराटनगर महानगरपालिका कार्यालयको सहयोग र ललितकला संगमको सहकार्यमा विराट राजाको ऐतिहासिक दरबार रहेकोस्थल विराटनगर १८ मा एभरेष्ट आर्ट फ्यूजनले नै सो कार्यक्रम गर्ने भएको छ ।

सम्बन्धित खवर