पथरीमा ९ हजार ८ सय सुकुम्बसीको लगत संकलन, नापी प्रक्रिया सुरु गर्ने तयारी - Nigranitimes

पथरीमा ९ हजार ८ सय सुकुम्बसीको लगत संकलन, नापी प्रक्रिया सुरु गर्ने तयारी

साउन ८ गते, पथरी । मोरङको पथरीशनिश्चरेस्थित ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ ले भूमिको लगत प्रविष्टिकरण गर्दै नापी प्रक्रिया पनि अघि बढाउने भएको छ ।

आज बसेको नगर कार्यपालिकाको बैठकले साउन र भदौमा लगतको बाँकी प्रविष्टिकरण कार्य सम्पन्न गरिसक्ने र प्रविष्टिकरण भएका वडाको तत्कालै नापी कार्य समेत अघि बढाउने निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले भरिएका फारमको कम्प्युटरमा लगत प्रविष्टिकरण सकिएका वडाको ७ दिने सूचना प्रकाशित गरेर नापी कार्य थाल्ने निर्णय भएको पनि उनले उल्लेख गरे । बैठकमा, आयोगको नगर कार्यालयस्थित इकाई प्रमुख ताराप्रसाद ढकालले हालसम्म आयोगको कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

उनले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको ३ हजार ५ सय ६८ र अव्यवस्थित बसोबासीको ६ हजार २ सय २५ घर परिवारको गरी कुल ९ हजार ७ सय ९३ वटा फारममा लगत संकलन भएको बैठकलाई जानकारी गराए । त्यसमध्ये वडा नम्बर १, २ र ३ को लगत प्रविष्टिकरण सम्पन्न भएको र ४ नम्बरको आधाउधी प्रविष्टिकरण हुँदा हालसम्म ५ हजार संख्याको फारम कम्प्युटरमा प्रविष्टिकरण भएको जनाए ।

गत असार २१ गते आयोगको जिल्लाले राखेको बैठकको निर्देशन अनुसार इकाईले निर्माण गरेको असारदेखि भदौ सम्मको ४ महिने योजना समेत उनले प्रस्तुत गरेका थिए । पथरीशनिश्चरेमा नापीका लागि उपकरणको समेत नगरपालिकाले व्यवस्थापन गरेको छ ।

सम्बन्धित खवर