पथरीमा पतिको कुटाईबाट पत्नीको मृत्यु - Nigranitimes

पथरीमा पतिको कुटाईबाट पत्नीको मृत्यु

माघ ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे–२, स्थित बुद्ध चोकमा पति कुटाइबाट पत्नीको मृत्यु भएको छ । बुद्धचोकका ३३ वर्षीय पति जय शर्माले पत्नी २१ बर्षिय पुजा बिकलाई कुटपिट गरी हत्या गरेको हो ।

प्राय जसो पत्निलाई कुटपिट गरिरहने शर्माले पुस ३० गते मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका पुजालाई कुटपिट गरेको थियो । पतिको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागेको पुजाको अस्पतालमा उपचार संभव नभएपछि फर्काएर ल्याउदै गर्दा शनिबार अपरान्ह मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीको डीएसपी कृष्ण खड्काले बताए ।

पत्नीको हत्या गर्ने जयलाई प्रहरीले पक्राउ गरिसकेको छ । जयलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जय सधै नै मादक पदार्थ र लागू औषध प्रयोग गर्दै पत्नि पुजालाई कुटपिट गर्दै आएको छिमेकीहरुको भनाइ रहेको छ ।

केही महिना अघि गर्भेनी भएको बेला कुटपिट हुँदा पेटको वच्चासमेत तुहेको एक छिमेकीले जानकारी दिए । दाजुको घरमा जय र पुजा मात्र बस्दै आएका थिए । जयले पुजालाई प्रायगरी कुटपिट गरिरहेने उनीहरुको भनाइ छ ।

 

सम्बन्धित खवर