पथरी खानेपानी संस्थामा जय बिष्ट अध्यक्षमा निर्वाचित - Nigranitimes

पथरी खानेपानी संस्थामा जय बिष्ट अध्यक्षमा निर्वाचित

 

जेठ २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर–१ स्थित पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाको अध्यक्षमा जयराम बिष्टलाई सर्वसहमत निर्वाचित गरेको छ ।

आइतबार भएको नवौं साधारण सभाले अध्यक्ष पदमा जयराम बिष्टलाई सर्वसहमत निर्वाचित गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा वेदनिधि खनाल, सचिवमा महेन्द्रकुमार राई, सहसचिवमा कुलमाया तिम्सिना भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद दुलाल चयन भएका छन् । उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा ठम्बरबहादुर खत्रीले मनोनयन दर्ता गरेपनि फिर्ता लिएपछि सम्पूर्ण समिति सर्वसहमत चयन भएको थियो ।

त्यसैगरी खुल्ला सदस्यहरुमा महेश विष्ट, रामकुमार राई, महिला सदस्यहरुमा भोजकुमारी लावती, शोभा तिम्सिना चयन भएका हुन् । लेखा समिति संयोजकमा शान्तिराम तिम्सिना, सदस्यहरुमा रामप्रसाद परियार र लुमा खड्का चयन भएका छन् ।

संस्थाको साधारण सभाको खुल्लासत्र हिजो शनिबार नर्वदेश्वर मन्दिरको हलमा भएको थियो । निर्वाचत आज तोकिएको थियो । केही पद बाहेक अधिकांश पदमा निर्विरोध र आवश्यकभन्दा बढी परेको पदमा फिर्ता लिएपछि समिति सर्बसहमत भएको निर्वाचन समितिको संयोजक अर्जुन बुढाथोकीले बताए ।

निर्वाचित पदाधिकारी सदस्यहरुलाई आइतबारै पद तथा गोपनियताको सफत ग्रहण गराइएको छ । सफत ग्रहण कार्यक्रममा पथरीशनिश्चरे नगरको निवर्तमान उपप्रमुख यमुना बिष्ट बस्तोला, कार्यपालिका सदस्य वीरध्वज सिवा लगायतको उपस्थिति रहेको थियो । सफत ग्रहणपछि नव निर्वाचित अध्यक्ष जय बिष्टले उपभोक्तालाई सफा खानेपानी वितरणमा मुख्य जोड दिइने प्रतिबद्धता ब्यक्त गरे । नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई १ नं. वडा अध्यक्ष भीमकुमार राई, निवर्तमान अध्यक्ष वीरबहादुर बस्नेत लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित खवर