पथरीमा एडभान्स सिलाई कटाई तालिम सुरु

मंसिर १६ गते, पथरी । लघु उद्यमी वन्न चाहने आर्थिक विपन्न महिलाहरुका लागि स्तरोन्नतीतर्फ सिलाई कटाई एडभान्स तालिम सुरु भएको छ ।

विहिबार मोरङको पथरीशनिश्चरे नगरमा १ महिने सिलाई कटाई एडभान्स तालिम सुरु भएको हो । अघिल्लो वर्ष आधारभूत र एडभान्स तालिम तथा कपडा सिलाउने मेसिन समेत प्राप्त गरेका वडा नम्बर १, २ र ३ का ३१ जनाका लागि व्यवसायि वन्न थप टेवा पुर्याउन स्तरोन्नतीका लागि एडभान्स तालिम दिइएको नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले बताइन् ।

सो तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख बास्तोलाले यसखाले तालिम लिएपछि महिला सहितका आर्थिक विपन्नहरु व्यवसायि वन्नु पर्नेमा जोेड दिँदै व्यवसायिक वन्न इच्छुकका लागि नगरले सधैं सहयोग पुर्याउने वताइन् ।

कार्यक्रममा, नगरको घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले कार्यक्रमका बारेमा बोल्दै आर्थिक विपन्न समुदाय स्वनिर्भर वन्ने कार्यक्रममा सक्रिय सहभागि हुन आग्रह गरे ।

तालिममा सहभागिले यस अघिको तालिमले आफुहरुलाई उर्जा मिलेकोले अव संयुक्त तबरले गार्मेन्ट उद्योग नै खोल्ने इच्छा व्यक्त गरेका छन् । कार्यक्रम कार्यपालिका सदस्य अरुणा राईको अध्यक्षतामा सम्पन्न भएको थियो । सीता अधिकारी रायामाझीले तालिमको सहजिकरण गर्ने भएको छ ।

महिलाहरुका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ को दफा २१ को उपदफा ३ बमोजिम लघु उद्यमी सृजनाका लागि तालिम अघि बढाइएको हो । अघिल्लो वर्ष वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन भएको र यो वर्ष वडा नम्बर ४, ८ र ९ मा समेत कार्यक्रम थप भएको छ ।

सम्बन्धित खवर