१ महिने निःशुल्क तबला बादन सुरु

चैत ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिले १ महिने निःशुल्क तबला बादन सुरु गरेको छ ।

शनिवर वडा नम्बर १ स्थित मनोहर पार्कमा तालिमको उद्घाटन गर्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा सृजना क्षेत्रको प्रवद्र्धन र विकासका लागि नगरले वर्षेनी बजेट छुट्याएर केहि थालनी गरेकोमा यसलाई निरन्तरता दिनुमात्रै होइन यसलाई अझ व्यवस्थित बनाउन पालिकाको नयाँ समितिले थप काम गर्नुपर्ने जनाए । तबला प्रशिक्षक जोनी योञ्जन, समिति सल्लाहकार गणेश वाछाना राई सहितले नगरलाई सृजनशील बनाउन सवै पक्षको सहकार्य आवश्यक रहेको वताए ।

नगरको १० वटा वडाबाट प्रत्येक वडाबाट १÷१ जनालाई सहभागि गराइ तालिम सुरु भएको हो । सो सन्दर्भमा कार्यक्रमका बारेमा विस्तृत जानकारी गराउँदै कार्यक्रम संयोजक अर्जुन सेञ्चुरीले नगरको सृजनशील गतिविधिलाई थप उर्जा प्रदान गर्न आफुहरु लागिपरेको उल्लेख गरे ।

समितिको पछिल्लो बैठकले प्रत्येक वर्ष नगरपालिका कार्यालयले कार्यक्रमका लागि व्यवस्थापन गर्दै आएको बजेटबाट नगरकी देशमै चर्चामा रहेकी कवि विमला तुम्खेवालाई सम्मानित गर्ने निर्णय गरेको अध्यक्ष धनराज राई (अमीर) ले जनाए । समितिले नयाँ वर्षको सन्दर्भमा वैशाख ३ गते पथरीमा हुने ‘श्रष्टा सम्मान, तबला प्रशिक्षण समापन एवम् बृहत सांस्कृतिक कार्यक्रम’को आयोजना गर्दै पत्रकार समेत रहेकी तुम्खेवालाई सम्मान गरिने छ ।

नगरका पुरानादेखि नयाँसम्मका १ दर्जन सर्जकले सांस्कृतिक कार्यक्रममा यो वर्ष दिवंगत भएका गीत संगीतका सर्जकका गीतहरु गाएर उहाँहरुप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्नेछन् । जसका लागि झापाको विर्तामोडस्थित अलंकार व्याण्डबाट लाइभ बाजा बजाएर गायनको स्वाद प्रस्तुत गरिने कार्यक्रमको स्वरुप रहेको छ । साथमा प्रहसन र साहित्यिक प्रस्तुति समेत रहने छ ।

सम्बन्धित खवर