कुपोषित र अपाङ्गता भएकालाई सामग्री वितरण

साउन १० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले अपाङ्गता भएका र कुपोषितहरुलाई सामग्री वितरण गरेको छ ।

प्रदेश सरकार र करुणा फाउण्डेशनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना कार्यक्रम अन्तर्गत सोमबार वितरण गरेको हो । १८ वर्ष उमेरसम्मका अपाङ्गता भएकाहरुका लागि सामग्री वितरणका क्रममा १४ ह्विलचियर मध्ये आज ९ जनालाई ह्विलचियर वितरण गरिएको छ । वडा नम्बर ५ र ६ मा बाँकी ५ वटा वितरण गर्न बाँकी रहेको छ । ४ जनालाई ट्वाइलेट चियर पनि वितरण गरिएको छ ।

विद्यालय भर्ना अभियान अन्तर्गत अपाङ्गता भएका १४ जनालाई ब्याग र खेलौना तथा घरमा आधारित शिक्षाका लागि १० जनालालाई म्याट र गुडिया वितरण भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, करुणा फाउण्डेशनकी सीबीआर अफिसर थेरापिष्ट मिरियम पाठक सहितले सामग्री वितरण गरेका थिए ।

त्यस्तै, बाग्मती सेवा समाजसँगको सहकार्यमा नगरका २ वर्ष मुनीका १२ जना अतिसीघ्र र १३ जना मध्यसीघ्र गरी २५ जना कुपोषित अवस्थाका बालबालिकालाई चामल, पोषक तत्वहरुको प्याकेज समाग्री उपलब्ध गराइएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोले बालबालिकाको चौतर्फी विकासका लागि सन्तुलित भोजन गराएर उनीहरुको नैसर्गिक अधिकार स्थापित गराउन अभिभावकहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा, सिनियर अहेब जगतप्रसाद मगरले गर्भमा बच्चा रहेदेखि जन्मिएको २ वर्षसम्म सुनौलो हजार दिनको अभियान सफल पार्न सो अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्ने सहितका उपयोगी जानकारी प्रस्तुत गरे । कार्यक्रममा, स्वास्थ्य शाखाका एकराज खत्री, बाग्मती सेवा समाजका कार्यक्रम अधिकृत युवराज चेम्जोङ सहितले कार्यक्रमका बारेमा बोलेका थिए ।

सम्बन्धित खवर