फागुन २८ गते, लेटाङ । देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिंदै जाँदा चुनावी चहलपहल सुरु भएको छ ।
यसै क्रममा मोरङको लेटाङस्थित लेटाङ बहुमुखि क्याम्पसमा पनि उम्मेदवारी दर्ता गराइएको छ । लेटाङ क्याम्पसमा निकै राम्रो उपस्थिति रहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सशक्त उम्मेदवारहरु प्रस्तुत गरेको छ ।
लेटाङमा अनेरास्ववियुले नगर कमिटी सहसचिव समेत रहेका वीवीएस तेश्रो वर्षमा अध्ययनरत छवि श्रेष्ठलाई सभापतिको उम्मेद्वार बनाएको छ । श्रेष्ठको प्रस्तावकमा अनिस पोखरेल र समर्थकमा दीपक तिम्सिना रहनु भएको छ । यस्तै सचिवमा पुजेस अधिकारी र कोषाध्यक्षमा सागर पौडेलको उम्मेदवारी दर्ता गरिएको छ भने खुल्ला सदस्यमा सम्झना रिमाल, उर्मिला तामाङ, इन्दिरा तिम्सिना, सुमित्रा मगर र निशान भुजेल उम्मेदवार रहेका छन् ।
यसैगरि समानुपातिकतर्फ सदस्यमा टीका तिम्सिना, विवेक तिम्सिना, पार्वती विष्ट, एलिशा दाहाल, जुनिता राई, रुपक ढुंगेल, विकास विक, रमा गहतराज, भगवती लिम्बु र टीका पौडेल उम्मेदवार रहेका छन् । लेटाङ क्याम्पसमा सभापति, सचिव, कोषध्यक्ष र ५ जना सदस्य प्रत्यक्षतर्फबाट निर्वाचित हुनेछन् भने ७ जना सदस्य समानुपातिकबाट निर्वाचित हुनेछन् ।
लेटाङ क्याम्पसमा ३ सय बढी विद्यार्थी अध्ययनरत रहेकाले १५ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन गठन हुनेछ । सभापति पदका उम्मेदवार छवि श्रेष्ठले लेटाङ क्याम्पसमा एमाले समर्थीत अनेरास्ववियुको जित सुनिश्चित भएकाले गठबन्धन नगरि एक्लै चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
नेकपा एमालेले राष्ट्रियता र देशको विकासका लागि गरेको काम देखेर यस क्याम्पसका धेरै विद्यार्थीहरु अनेरास्ववियुमा आवद्ध भएकाले सहज रुपमा जित हात पार्ने उहाँको भनाइ छ । उता नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत दलका विद्यार्थी संगठन भने गठबन्धन बनाएर चुनावी मैदानमा छन् ।