पथरीशनिश्चरेका १४ बर्षीय बालिका जंगलमा बलात्कृत

साउन २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरकी १४ वर्षीया बालिका निगुरो टिप्न जादा बलात्कृत भएकी छन् । बेलबारी नगरका २१ वर्षीय सन्तोष नेपालीले निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बलात्कार गरेको बेलबारी प्रहरीले जनाएको छ ।

बालिकालाई फकाई बेलबारी स्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर नेपालीले बलात्कार गरेको हो । प्रहरीका अनुसार गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बालिका आफू असुरक्षित भएको भन्दै प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो । बलात्कार आरोपी नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । पीडितको उपचार र स्वास्थ्य परीक्षण विराटनगरको कोसी अस्पतालमा गरिएको छ ।

बेलबारीस्थित दिदीको घर आएको बेलामा नेपाली र बालिकाको चिनजान भएको प्रहरीले जनाएको छ । ‘चिनजान भएपछि नजिकिएका नेपालीले निगुरो टिप्न जाउँ भन्दै फकाएर जंगल लगेको खुल्यो । एकान्त ठाउँमा पु¥याएपछि बिहे गर्छु भनेर करणी गरेछन्,’ श्रेष्ठले भने, ‘प्रतिकार गर्दा बालिकाको घाँटी, अनुहार र शरीरका विभिन्न भागमा चोटसमेत लागेको छ । पीडितको पारिवारिक आर्थिक अवस्था पनि कमजोर रहेको पाइयो ।’

बिहे गर्छु भन्दै बलात्कार गरेपछि नेपालीले बालिकालाई आफ्नो घर पनि लिएर गएका थिए । परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएर लखेटेपछि पीडित कानेपोखरी प्रहरीको शरणमा पुगेकी थिइन् ।

 

सम्बन्धित खवर