जेठ ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयलाई हेफर इन्टरनेशनले ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । आइतबार कोराना भाइरस संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टरका लागि रकम सहयोग गरेको हो ।
हेफरले अभियान नेपालमार्फत कृषि र पशुपालन परियोजना सञ्चालन गरेको मोरङ र झापाका ५ पालिका अन्तर्गतको पथरीशनिश्चरेमा चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्था हुँदै ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । संविधानसभा सदस्य एवम् अभियान नेपालका प्रमुख प्रेम गिरीको नेतृत्वकोको टोलीले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई हस्तान्तरण गरेको छ ।
उपप्रमुख वास्तोलाले कोरोनाले निम्त्याएको अप्ठेरो अवस्थामा भएको सहयोगप्रति आभार तथा धन्यवाद व्यक्त गरे । कोरोना संक्रमित र मृत्यु हुनेको संख्याका आधारमा आफ्नो कार्यक्षेत्र रहेको ५ पालिकामा आर्थिक सहायता प्रदान गरिएको संस्थाले जनाएको छ ।
त्यसैगरी, पथरीशनिश्चरेको आइसोलेसनका लागि हाइभिजन अर्गानिक कृषि फर्म प्रालि काठमाडौंले सदस्य भोजराज घिमिरेमार्फत ७ सेट पीपीइ उपलब्ध गराएको छ । साथै आज नै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ १ नम्बर प्रदेशले २० जना विरामीका लागि पुग्ने रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने आयुर्वेदिक औषधि प्रदान गरेको छ ।