प्रवासी नेपालीहरु नै नेपालको राजनीतिक उत्प्रेरणा हुन – शंकर पोखरेल

फागुन ८ गते, भारत । प्रवासी नेपाली संघ भारतद्वारा आयोजित ८ औँ अखिल भारत प्रवासी नेपाली सम्मेलनको पहिलो कार्यक्रम आज एउटा भव्य समारोहबीच समुद्घाटन भएको छ । महाराष्ट्रको शैक्षिककेन्द्रको रुपमा चिनिने पुणे शहरमा सम्पन्न सम्मेलनलाई संघीय सरकारका पूर्वप्रवक्ता तथा एमालेका महासचिव शंकर पोखरेलले ८ वटा दीपप्रज्जवल गरी समुद्घाटन गर्नुभयो ।

भारतस्थित प्रवासी नेपाली समुदायमाझ क्रियाशील संघसंस्थाको प्रतिनिधित्व सहित नेकपा (एमाले) को नेतृत्व सहभागी सम्मिलित सम्मेलनमा भारतभरिका २१ वटा राज्य तथा संयुक्त राज्यका हजारौँ प्रतिनिधि, कलाकार र स्वयंसेवकको उपस्थिति रहेको छ ।

शहरको लोकशाहिर अण्णाभाउ साठे अडिटोरियमको सभाकक्षमा असाधारण जनसहभागिता माझ सम्पन्न सम्मेलनको समुद्घाटन समारोहलाई एमालेका महासचिव कमरेड शंकर पोखरेल सहित नेकपा माओवादी केन्द्र सम्बद्ध प्रवासी संगठन, विभिन्न सामाजिक–सांस्कृतिक र वित्तीय संस्थाका प्रतिनिधि र भारतीय बामपन्थी बुद्धिजीवी नेतृत्वले सारगर्भित सम्बोधन गर्नुभएको थियो ।

समारोहमा शुभकामना सम्बोधन गर्नुहुने मित्रप्रसाद घिमिरे, कोमल सुवेदी र लक्ष्मण रायमाझी सहितको नेतृत्वको जिज्ञासामा आधारित रहँदै महासविच पोखरेल आफ्ना रायसुझाव सहित सम्मेलन सफलताको शुभकामना राख्नुभएको थियो ।

प्रमुख अतिथि महासचिव पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलन निर्माणकालको जागरण अभियानदेखि नै संलग्न प्रवासी नेपाली आन्दोलनको विगतप्रति सगर्व स्मरण गर्नुहुँदै पविवर्तित सन्दर्भमा प्रवासी नेपाली आन्दोलनले नयाँ भूमिकातर्फ उन्मुख रहन राय सुझाउनुभयो । उहाँले एकातिर नेपालको राजनीतिमाथि किचलो सिर्जना गरेर दक्षिण एशियन अर्थसमृद्धिको राजनीतिमा पश्चिमाहरु अवरोध हुँदै गएको प्रसङ उठाउनुहुँदै नेपालमा राजनीतिक अस्थिरता र अस्थायित्व सिर्जना चाहने शक्तिविरुद्ध भारतस्थित प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनको पहिलोसत्र महासचिव टीका पौडेलको सञ्चालन र लोकनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने पार्टी स्थायी कमिटी सदस्य डा पुष्प कँडेल, संघका संस्थापक नेता लक्ष्मण रायमाझी, पार्टी केन्द्रीय कमिटी सदस्य युवराज बास्कोटा, केन्द्रीय सल्लाहकार सदस्य तिलबहादुर विश्वकर्मा सहित दर्जनौंको उपस्थिति रहेको थियो ।

आजदेखि सम्मेलनको नीति, विधि, कार्यक्रममाथि चर्चा हुने र यसलाई नेतृत्व दिन सक्ने नवीन नेतृत्वबारे चर्चा हुने सम्मेलन आयोजक कमिटी सदस्य छविलाल भट्टराईले जनाउनुभयो ।

सम्बन्धित खवर