अस्ट्रेलिया डढेलो – आगो निभाउँदा पिताको ज्यान गयो, १९ महिने छोरालाई दिइयो ‘मेडल’

एजेन्सी । अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ ।

डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ । त्यस्तै डढेलोका कारण यहाँका जङ्गलमा रहेका ठूलो सङ्ख्यामा जनावरहरू मरेका छन् यद्यपि मारिएका जनावरबारे फरक फरक अनुमानहरू आएका छन् ।

यसवर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनमा देशका अधिकांश स्थानमा तापक्रम वृद्धि भएको छ ।

उद्धारकर्मीहरू र दमकलकर्मीहरूले सकेसम्म धेरै व्यक्तिहरूको ज्यान जोगाउन प्रयास गरिरहेका छन् । तर, उद्धारकै लागि खटिएका उद्धारकर्मी र दमकलकर्मीहरूकै ज्यान जाने गरेको छ । आगो निभाउने क्रममा उच्च तापक्रमका कारण उद्धारकर्मीहरू र दमकलकर्मीहरूको ज्यान जाने गरेको बताइन्छ ।

यसै बीच सन् २०१९ डिसेम्बर १८मा आगो निभाउने क्रममा ज्यान गुमाएका अग्निनियन्त्रक जिएफ्री केइटनलाई मरणोपरान्त पदक प्रदान गरिएको छ । केइटनलाई मरणोपरान्त प्रदान गरिएको पदक उनका १९ महिने छोरालाई दिइएको हो ।

सामाजिक संजालमा ती १९ महिने बालकले पदक लिँदै गरेका तस्विरहरु देखिएका छन् । अन्त्यस्टिका क्रममा मरणोपरान्त पदक जिएफ्री केइटनका छोरालाई प्रदान गरिएको न्यू साउथ वेल्स फायर सर्भिसेसले जनाएको छ ।
विदेशी समाचार एजेन्सीबाट

सम्बन्धित खवर