उर्लाबारीको आमबारीमा चासोक तङ्नाम मेला तीन दिन लाग्ने

मंसिर ४ गते, उर्लाबारी । मोरङको उर्लाबारी–९, स्थित आमबारीमा तीन दिने चासोक तङ्नाम मेला लाग्ने भएको छ । आज पुस ४ गते देखी ६ गते सम्म लाग्ने भएको हो ।

चासोक तङ्नाम मेलामा चर्चित गायक दिपक लिम्बुसहितका कलाकारहरुको प्रस्तुति रहने भएको आयोजकले जनाएको छ । त्यस अवसरमा छेलो हान्ने, डोरी तान्ने, म्युजिकल चेयरलगायतका खेलकुद प्रतियोगिताहरु समेत सञ्चालन गरिने किरात याक्थुङ चुम्लुङका नगर सचिव अमर सेलिङले जानकारी दिए । मुन्धुमी गायिका सुनिता मिभक लगायतका कलाकारहरुकोे समेत प्रस्तुति रहने छ । समापन कार्यक्रममा प्रतियोगितामा विजेता तथा उपविजेताहरु पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ ।

सो स्थानमा विगत लामोसमयदेखि चासोक मेला आयोजना गरिँदैआएको चुम्लुङका नगर अध्यक्ष चन्द्र पालुङ्वाले जानकारी दिए । गतवर्ष भने कोराना महामारीका कारण चासोक मेला लाग्न सकेको थिएन ।

प्रकृतिपूजक पूर्वका बहुल लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो– चासोक तङ्नाम । यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन् । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ । मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ । यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ ।

पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी चासोक तङ्नामको थातथलो हो । यो धेरै विज्ञानसम्मत पनि छ । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति– जल, जमिन, वायु, अग्नि (सूर्य) लाई विशेषले पुजिन्छ । चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो । लिम्बू जातिले अन्नलाई एकप्रकारले माङ् (देवता) नै मान्छन् । त्यसैले यी जाति अन्नमा प्रेम प्रकट गर्न पुज्छन् । यो पनि चासोक तङ्नाम हो ।

चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उँधौली याम (दक्षिणायण­) को न्वागी पर्व पनि हो । लिम्बू भाषामा ‘चासोक’को अर्थ नया ‘पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व÷चाड अर्थात् उत्सव जनाउँछ ।
लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङहरूले काँचो कन्दमुल खान्थे । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत विज दिए । प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुवात गरिन् । आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए । यसपछि मानिसले स्वास्थ्यवद्र्धक खाद्यान्न पाउन थाले । यसपछि प्रकृतिसहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो । यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको हो । चासोक तङ्नामले लिम्बू समुदायको परम्परागत जीविकोपार्जनको पेसागत मुख्य आधार कृषि हो भन्ने पनि जनाउँछ ।

धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गरिन्छ । फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुगार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । खाँदा, रोग व्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिन्छ ।

चासोकका बेला कलात्मक रूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्नेगरी ढोकाछेउमा झुन्ड्याइन्छ । यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड मान्छन् ।

सम्बन्धित खवर