जनता आवास कार्यक्रमः पथरीशनिश्चरेमा घर निर्माण सुरु

पुस १२ गते, पथरी, मोरङ । पथरीशनिश्चरे नगरपालिकाले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत जनताको घर निर्माण सुरु गरपेको छ । सो कार्यक्रम अन्तरगत ४ नम्बर वडाको पासवान टोलमा घर निर्माण सुरु गरेको हो ।

पासवान टोलमा निर्माण हुने घरको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले शिलान्यास गरी घर निर्माण कार्य थालिएको छ । पासवान टोलमा १७ घर दलित परिवारको घर निर्माण हुन लागेको घर निर्माण उपभोक्ता समितिका अध्यक्ष भागवत पासवानले बताए । नगर क्षेत्रभरी भने ४६ वटा घर बनाउने तयारी गरिएको छ । लाभग्राही एक वर्षअघि नै छनौट भएका थिए ।

कोभिड महामारीका कारण निर्माणको काम सुरु गर्न ढिलाई भएको कार्यक्रम कार्यान्वयन इकाई कार्यालय विराटनगरले जनाएको छ । आवास निर्माणका लागि घरको डिजाइन सहित प्रदेश सरकारले ३ लाख ३२ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने छ भने लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामग्री उपलब्ध गराएर १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने व्यवस्था रहेको वडाध्यक्ष भण्डारीले बताए ।

उक्त रकमबाट २ कोठाको आवास र रिङ हालेको चर्पी बनाउनु पर्नेछ । प्रदेश १ सरकारले ‘जनता आवास कार्यक्रम’ मा तराई मधेसका पासवान, डोम, मुसहर, मेस्तर र हलखोर जातिलाई प्रथामिकता दिने उल्लेख छ ।

१० जना लाभग्राही भएको बस्तीमा निर्माण समिति गठन गर्नुपर्ने तर छरिएर रहेको अवस्थामा भवन कार्यालय वा कार्यान्वयन इकाई कार्यालयले लाभग्राहीसंग सिधै सम्झौता गरेर काम गराउन सक्ने व्यवस्था कार्यविधिमा छ ।

 

सम्बन्धित खवर