माघ १७ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिका स्थित कानपोखरी अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु भएको छ । वडा नं. ४ बयरवन बजारमा रहेको अस्पतालले गत बुधबार देखी भिडियो एक्स–रे सेवा सुरु गरेको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले भिडियो एक्स–रे मेसिन एक बर्ष अघि खरिद गरिएता पनि कोरोनाको कारण अस्पतालले संञ्चालनमा ल्याउन सकेको थिएन । भिडियो एक्स–रे सम्बन्धी सम्पूर्ण सेवा दिन अस्पतालले प्रत्येक बुधबार यो सेवा रहने स्वास्थ्य शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।
भिडियो एक्स–रे का लागि अस्पतालमा आफ्नै प्राविधिक भने छैन । अहिले तत्कालको लागि विराट मेडिकल कलेजबाट प्राविधिक रेडियोलोजि आउने गरेका स्वास्थ्य शाखा संयोजक राजभण्डारी बताउँछन् । भिडियो एक्स–रे को रिपोर्ट अस्पतालका मेडिकल अफिसर रामेश्वर यादवले हेर्ने गरेका छन् ।
भिडियो एक्स–रे गर्न गर्भवतीको लागि रु ३ सय र अन्यको लागि रु ५ सय रुपैया रकम राखिएको छ । स्वास्थ्य विमा गरेका लागि निःशुल्क गरिने अस्पताल संचालक समितिका सदस्य उमेश पौड्यालले बताए । अस्पतालमा करार सहित १२ जनाले कर्मचारीले काम गर्दै आएका छन् ।
भिडियो एक्स–रेबाट पाइने सेवा
भिडियो एक्स–रेबाट विभिन्न अंगहरुको जाँच गर्न मिल्छ । जस्तैः पेटको गर्दा कलेजो, पित्त थैली, फियो, मिर्गौला, पिसाब थैली, पाठेघर, डिम्ब, प्रोस्टेट अन्डकोष आदि । त्यसैगरी रगत नली, मांसपेसी, नशा, गर्भ, नवजात शिशुको मष्तिस्क आदि विशेष भिडियो एक्स–रेले जाँच गर्ने गरेका छन् ।
अस्पतालमा सेवाहरु
अस्पतालमा अहिले दैनिक ओपिडि सेवा, सामन्यशल्यचिकित्सा सेवा, २४ सैं घण्डा प्रसुती सेवा, नाक, कान तथा घाँटी जाँच, चर्मरोग तथा यौन रोग चिकित्सा सेवा, हात्तिपाइले रोग, कुष्ट तथा क्ष्यरोग परिवार नियोजन सेवा, सुरक्षित गर्भवतन सेवा, मातृ तथा नवजात शिशु सेवा, गर्भवती जाँच सेवा, नियमित जाँच सेवा, पोषण तथा बच्चा तौललिने सेवा र औलो रोग सेवाहरु प्रदान गर्दै आएको छ । त्यसैगरी ल्यावटेष्टमा सिविसी, सुगर टेष्ट, भिडिआरएल÷एचआइभी टेष्ट, रगत जाँच, युरिन टेष्ट, स्टुल टेष्ट, लिभर फङ्सन टेष्ट लगाएत सेवाहरु दैनिक संञ्चालनमा रहेको छ ।
पोर्टेबल एक्स–रे मेसिन
त्यसैगरी अस्पतालमा पोर्टेबल एक्स–रे मेसिन रहेको छ । हेफर इन्टरनेशनल नेपालले २०७८ जेठ ३० गते कानेपोखरी अस्पतालको लागि एक्स–रे मेसिन कानेपोखरी गाउँपालिकालाई प्रदान गरेको थियो । त्यो पोर्टेबल एक्स–रे मेसिन भने अस्पतालले प्रयोगमा ल्याउन सकेको छैन । अहिले प्रयाप्त कोठा नभएको र अस्पताल बन्ने क्रममा रहेकोले प्रयोगमा ल्याउन केही समय लाग्ने अस्पतालका मेडिकल अफिसर रामेश्वर यादवले बताए ।