याक्थुम चुम्लुङको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा डम्बर कुरुम्बाङ

माघ २३ गते, बेलबारी । किरात याक्थुङ चुम्लुङको ८ औं जिल्ला अधिवेशन बेलबारीको चुम्लुङ हिममा सम्पन्न भएको छ । नव निर्वाचित चुम्लुङ जिल्लाले आइतबार दिउँसो बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिको नाम सार्वजनिक गरेको हो ।

शनिबार मोरङको बेलबारी–३ स्थित किरात याक्गुङ चुम्लुङ धार्मिक वनमा सम्पन्न अधिवेशनले डम्बर कुरुम्बाङको अध्यक्षतामा १२ सदस्य समिति सर्वसहमत चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा कुलबहादुर हाङ्श्रोङ, सचिबमा बरुण लाबुङ, सह–सचिवमा सन्तोष प्राङ्देन र कोषाध्यक्षमा अरुणा निङ्लेखु चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा ज्योति हाङ्श्रोङ, मुना चोङ्बाङ, चन्द्र बहादुर पालुङ्वा, तिलबहादुर निङ्लेखु, दिपेन्द्र खजुम, दिलबहादुर थेबे र रामबहादुर खुदाङ सर्वसहमत चयन भएको कियाचु निवर्तमान जिल्ल अध्यक्ष बिबेक लिम्बुले बताए । अधिबेशनले राष्ट्रिय चुम्लुङमा फिपराज बेघा, टेकबहादुर पन्धाक र गणेश पन्धाकलाई निर्वाचित गरेको छ ।

‘याक्थुङबाहरुको सन्देश, अरुण पूर्व लिम्बुवान प्रदेश’ भन्ने नाराको साथ शनिबार भएको उद्घाटन कार्यक्रममा १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री इन्द्रबहादुर आङबोको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला, प्रदेश समितिका अध्यक्ष धु्रब मेन्याङबो, नेपाल आदिबासी जनजाति महासंघका मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेबेलगायतले शुभकामना दिएका थिए ।

अधिवेशन आयोजक समितिको अध्यक्ष विवेक योङहाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हाक्पारे, ख्याली, येवालाङ, केःलाङ लगायतको सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो । बन्दसत्रमा प्रस्तुत जिल्लाको प्रगति प्रतिवेदन, भावी कार्ययोजना र आर्थिक प्रतिबेदन संशोधनसहित पास भएको अध्यक्ष योङहाङले बताए । अधिवेशनको बन्दसत्रमा ५ गाउँपालिका, ६ नगर शाखा समितिका प्रतिनिधि तथा पर्यवेक्षक गरी ७० भन्दा बढीको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर