असार १० गते, पथरी । स्थानीय तह निर्वाचन २०७४ पछिको अन्तिम आर्थिक बर्षमा पथरीशनिश्चरे नगरपालिकाले बारुण यन्त्र पाएको छ ।
उतिखेरका नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यामुना विष्ट बास्तोलाको नेतृत्वको टिमले आर्थिक बर्ष २०७८/०७९ को कार्यक्रम अनुसार निर्णय भएपछि बारुण यन्त्र खरिद गरी ल्याएको हो । बारुण यन्त्र नगरमा आएपछि नगरबासीमा खुशीयाली छाएको छ । पथरीशनिश्चरे नगरमा पनि दमकल आयो भन्दै नगरवासीले दमकलको फोटो सामाजिक सञ्जाल तताएका छन् ।
छिमेकी पालिका उर्लाबारी, लेटाङ, बेलबारी र कानेपोखरीले अघिपछि बारुण यन्त्र ल्याएपछि पथरीशनिश्चरे नगरमा बारुण यन्त्र नल्याउदा नगरका जनप्रतिनिधिहरुलाई नगरबासीहरुले सामाजिक सञ्जालमा आलोचना गर्दै आएको थियो । नगरपालिकाले दुई आर्थिक बर्ष सम्म बारुण यन्त्र खरिदमा बजेट पनि छुट्याएका थिए । तर आधुनिक बारुण यन्त्र दाताहरुबाट ल्याउने प्रयासमा एकदुई बर्ष वितेपछि पथरीशनिश्चरे नगरमा बारुण यन्त्र नआउने हो की भन्ने नगरवासीमा चासो बढ्दै गएको थियो ।