तीन वटा विधेयक पारित गर्दै उर्लाबारी नगरको नगरसभा सम्पन्न

असार १७ गते, उर्लाबारी । तीन वटा विधेयक पारित गर्दै उर्लाबारी नगरपालिकाको नगरसभा आज सम्पन्न भएको छ । नगरसभा गत असार ८ गते सुरुभएको थियो ।

सम्पन्न नगरसभाले शिक्षा सम्बन्धी विधेयक २०७९, खानेपानी सेवा (व्यवस्थापन तथा नियमन) विधेयक २०७९, सहकारी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो । त्यसैगरी नगर सभाले विभिन्न समितिहरु गठन पनि गठन गरेको छ ।

खानेपानी सेवा विधेयक र सहकारी (पहिलो संशोधन) विधेयक सर्वसम्मतले पारित भएको छ । शिक्षा सम्बन्धी विधेयकमा पनि नेपाली काँग्रेसबाट निर्वाचित नगरसभा सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् । विद्यालय व्यवस्थापन समितिमा दुई जना सदस्य नगर कार्यपालिकाले मनोनित गर्ने विषयमा असहमति जनाउँदै उनीहरुले सो विधेयकमा नोट अफ डिसेन्ट लेखेका हुन् ।

अर्थ तथा सार्वजनिक लेखा समितिमा चिन्तामणि पौडेल, विधायन समितिमा कुलबहादुर कार्की, सामाजिक समितिमा रविन लामा, सुशासन तथा स्थानीय सेवा समितिमा कुमार कँडेल र कृषि, पर्यटन, पुर्वाधार तथा प्राकृतिक स्रोत समितिमा तिलक पाण्डेलाई संयोजक तोकिएको प्रवक्ता भीष्म बुढाथोकीले बताए ।

यसैगरी, नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल संयोजक रहने न्यायिक समितिको सदस्यमा वडा नं. ८ का वडा सदस्य रुद्रप्रंसाद लामिछाने र वडा नं. ४ की वडा सदस्य अमृता नेपाली चयन भएका छन् । आजको नगरसभा बैठकले राजघाट स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने निर्णय समेत गरेको प्रवक्ता बुढाथोकीले बताए ।

सम्बन्धित खवर