आठ वर्षीया बालिका बलात्कारको आरोप लागेको कानेपोखीका पुरीलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश

सांकेतीक तस्विर

साउन २९ गते, कानेपोखरी । आठ वर्षीया बालिका माथि बलात्कार आरोप लागेका ४३ बर्षीय काजीमान पुरीलाई जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका –६, रमाइलो घर भएका पुरीलाई एक हप्ता अघि जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । पुरीलाई बालिका बलात्कारको आरोपमा असार ३० गते दिएको जाहेरीका आधारमा इलाका प्रहरी कर्यालय पथरीले पक्राउ गरेको थियो ।

गाउँमा ८ बर्षीय बालिका बलात्कार भएको घटना ६ महिनापछि मात्र सार्वजनिक भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । गत माघ ५ गते पुरीले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भयो । मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएको हो ।

घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । पीडित बालिकाका बाबुले असार ३० गते दिएको जाहेरी दिएका थिए । मिलापत्र गराएको विषयमा अझै अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

बालिकाका आफन्तका अनुसार गत माघ ५ गते पुरीले बाटोमा खेलिरहेकी बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । बलात्कारको हल्ला गाउँमा फैलिएपछि सोही दिन गाउँका केही व्यक्तिहरुले आरोपीलाई माफी माग्न लगाएर मौखिक मिलापत्र गराए ।
घटना हुँदा पीडितका बुबा भने घरमा थिएनन् । ‘म त बाहिर थिएँ, मलाई कसैले सुनाएनन् पनि’, बालिकाका बुबाले भने, ‘छोरीलाई पिसाबमा समस्या भएपछि पटक पटक डाक्टरलाई देखाएँ, भर्खरै मात्र घटना थाहा भयो ।’

बालिकाका बुबा जागिरको शिलशिलामा जिल्ला बाहिर थिए । घर आएको लामो समयसम्म आफूलाई जानकारी नदिएको उनले बताए । बिरामी भएकी छोरीलाई सोधीखोजी गर्दा आफूले घटनाका विषयमा थाहा पाएको उनले बताए । उनका अनुसार घरमा श्रीमती र छोरी मात्रै थिए । ‘घटनाका बारेमा मैले थाहा पाएपछि श्रीमतीलाई सोधे, उनले ज्यान मार्ने धम्की दिएकाले नसुनाएको भनिन्,’ उनले भने, ‘आमा छोरी मात्रै बस्छौ भन्दै धम्की दिएका रहेछन् ।’

छोरीलाई पनि कसैलाई नसुनाउन भनेर धम्की दिएको उनले बताए । धम्कीका कारण आमा छोरीले नै उनलाई घटनाका बारेमा सुनाएनन् । ‘बुझ्दाखेरि गाउँमा अलेली हल्ला सुने, छोरीले पनि सुनाइन्,’ उनले भने, ‘मैले थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरें ।’ उनका अनुसार घटनाका कारण छोरीको स्वास्थ्यमा समस्या छ ।

 

सम्बन्धित खवर