बुथ कब्जा गरिएका दोलखाका ७ वटा मतदान केन्द्रमा पुन मतदान हुने

 

काठमाडौं । दोलखाका ७ वटा मतदान केन्द्रमा पुन मतदान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निर्वाचन आयोगमा पेश भएको छ । यसबारे आयोगले आजै निर्णय गर्न अहिले बैठक बसिरहेको छ ।

आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाइएको प्रतिवेदनमा ७ वटै केन्द्रमा पुनः मतगणना गर्नुपर्ने उल्लेख गरिएको छ ।

४ मंसिरको चुनावमा वैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका ७ वटा मतदान केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो ।

निर्वाचन आयोगको सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानविन गरेको थियो ।

आयोगको छानविनमा दोलखाका ७ केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको भन्दै पुनः मतदान गर्न सिफारिस गरिएको थियो ।

‘अहिले हामी प्रतिवेदनमाथि छलफल गरिरहेका छौँ, आजै एउटा निर्णय गर्छौँ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।

खासगरी नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वमा दोलखाका १० ठाउँमा बुथ कब्जा भएको भन्दै निवेदन दिएको छ ।

मंसिर ४ मै कांग्रेसका प्रदेशसभा उम्मेदवार कुन्दनराज काफ्लेको नेतृत्वमा बुथ कब्जा भएको भन्दै एमालेले आयोगमा निवेदन दिएको थियो ।

सम्बन्धित खवर