पुस १३ गतेदेखी केराबारीमा ‘मच्छिन्द्र महोत्सव’ लाग्ने

पुस १० गते, कानेपोखरी । मोरङको केराबारी गाउँपालिकामा पुस १३ गतेदेखी केराबारी मच्छिन्द्र महोत्सव लाग्ने भएको छ ।

आइतबार केराबारी व्यापार प्रवन्ध समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै केराबारीमा कृषि, पर्यटन तथा व्यपार महोत्सव लाग्ने बारेमा जानकारी गराएको हो ।

मच्छिन्द्र महोत्सव पुस १३ गतेदेखि १९ गतेसम्म चल्ने आयोजक केराबारी व्यापार प्रवन्ध समितिले जनाएको छ । पर्यटन तथा व्यापार महोत्सवमा कृषिजन्य, जडिवुटिजन्य, फलफूल तथा पुष्प प्रदर्शनी, साना तथा घरेलु उत्पादन र हस्तकला, अटोमोबाइल्स, गार्मेन्टस, जातीय संस्कृति झल्कने लगायतका स्टल रहने छन् ।

महोत्सवमा साँझदेखी दैनिक राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने र दिउँसोको समयमा अन्तरपालिकास्तरील फुटवल प्रतियोगिता र स्टलहरु चल्ने छन् । महोत्सवमा साहित्यिक कार्यक्रमको समेत रहेको छ । राष्ट्रियस्तरका कलाकारहर प्रमोद खरेल, एलिना चौहान, रचना रिमाल, राजेश पायल राई, लाहुरे, प्रविशा अधिकारी लगाएत ल्याउने तयारी गरिरहेको केराबारी व्यापार प्रवन्ध समिति अध्यक्ष किशान शाहीले बताए ।

त्यस्तै महोत्सवको विशेष आर्कषणको रुपमा मनोरञ्जनात्मक खेलहरु पनि राखिने भएको छ । जस्तैः बाल उद्यान, फेसन शो, प्रतिभाहरु प्रदर्शन, रोटेपिङ लगाएतका रहेका छन् । दिवा र रात्रीकालिन सत्रमा छुट्टाछुटै कार्यक्रमहरु हुने बताइएको छ ।

महोत्सवबाट खर्च कटाएर ६ लाख आम्दानी गर्ने र त्यो संकलित रकमले केराबारी डिजिटल प्रवेशद्वारको निर्माण गरिने पत्रकार सम्मेलनमा आयोजकले बताएका छन् । गेट निर्माणमा अपुग रकमा गाउँपालिकाबाट र देउँसी भैलो खेलेर संकलन गरिएको १ लाख ५० हजार पनि त्यही लगाउने अध्यक्ष शाही बताउँछन् ।

केराबारी व्यपार प्रवन्ध समितिका अध्यक्ष किशान शाहीले मच्छिन्द्र मेलाको इतिहासलाई बचाउँदै त्यसैका माध्यमबाट केराबारीमा कृषि तथा व्यपार–व्यवसायको प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए । उनले केराबारीमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै यहाँ उत्पादिक सामग्रीको बजार बढाउने उद्देश्य रहेको बताए ।

महोत्सवमा सुरक्षा व्यवस्थाको राम्रो प्रवन्ध गरिएकोले ढुक्क भएर सबैलाई महोत्सवमा आउन पनि अध्यक्ष शाहीको अनुरोध रहेको छ । महोत्सवमा १ सयभन्दा बढी स्टलहरु, ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सव भरी ५० लाख कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

मेलालाई भव्य र सव्य रूपमा संपन्न गर्न आर्थिक, सांस्कृतिक कार्यक्रम, स्वयमसेवक, शान्ति सुरक्षा लगायतका विभिन्न उपसमितिको गठन भएको छ । यो मेला डेढ सय वर्ष अघिदेखि देखि लाग्दै आएको बताइन्छ ।

सम्बन्धित खवर