माघ २५ गते, काठमाडौं । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।
दूतावासका अनुसार सम्पर्कमा आएका २१ जना सकुशल रहेका छन् । ‘अहिलेसम्म भूकम्पमा परेर नेपाली हताहत भएको खबर छैन,’ दूतावासले भन्यो ।
दूतावासको सम्पर्कमा आएका २१ जनामध्ये २ जना नेपाली सुरक्षित स्थान खोज्दै टर्कीको राजधानी अंकारा शहर पुगेका छन् । सम्पर्कमा आएका नेपाली मध्ये ६ जना कामदार हुन भने बाँकी विद्यार्थी हुन् ।
टर्कीस्थित गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलका अनुसार सञ्चार सम्पर्क टुटेका कारण भूकम्पग्रस्त सबैठाउँमा सम्पर्क हुन सकिरहेको छैन । भूकम्प गएको गाजियान्टेपमा कति नेपाली छन भन्ने यकिन तथ्यांक छैन । ‘भूकम्प गएको ठाउँ मुख्य शहर होइन,’ महासचिव पौडेलले भने, ‘त्यसैले भूकम्प गएको शहरमा धेरै नेपाली छैनन् ।’
सडक र सञ्चार सम्पर्क स्थापित हुने बित्तिकै सम्पर्कमा आएका नेपालीलाई उद्धार गरेर टर्कीको राजधानी अंकारा पठाउने तयारी भइरहेको पौडेलले बताए ।
उनले भने, ‘सम्पर्कमा आएका सबै नेपाली सुरक्षित छन् । राहत सामग्री पनि पाइरहेको बताएका छन् । सडक र सञ्चार सम्पर्क बलियो हुनेबित्तिकै उनीहरुलाई राजधानी अंकारा पठाउने तयारी भइरहेको छ ।’ भूकम्प प्रभावित क्षेत्रमा नेपाली रहे÷नरहेको खोजी भइरहेको पनि पौडेलले बताए ।
टर्कीको गाजियान्टेप शहरलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान चार बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार आइरहेका पराकम्प ५ रेक्टर स्केलसम्मका छन् ।
चिसो, झरी र सडक भत्किएका कारण राहत तथा उद्धारमा कठिनाई भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भइसकेको छ । आजै मात्र नेपालले टर्कीलाई राहत सामग्री पठाउने निर्णय गरेको छ ।