रमाइलो क्याम्पसको स्नातक तहमा निशुल्क शिक्षा लिने बुहारी १४ जना भए

जेठ १०, कानेपोखरी । ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम अन्तरगत मोरङको कानेपोखरी गाउँपालिकाले स्नातक अध्ययन गर्ने बुहारीहरुलाई निशुल्क शिक्षा सुरु गरेको छ ।

गाउँपालिकाले कानेपोखरी ५, स्थित रमाईलो बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने यस क्षेत्रको बुहारीहरुलाई निशुल्क शिक्षा प्रदान गर्न सुरु गरेको हो । क्याम्पसको शैक्षिक सत्र २०८० देखी नयाँ भर्ना हुन आउने र दोस्रो, तेस्रो, चौथो बर्षमा अध्ययनरत बुहारीहरुलाई निशुल्क शिक्षा लागु गरेको क्यापस संचालक समितिका उपाध्यक्ष चरण गुरुङले बताए ।

यस शैक्षिक सत्रमा १४ जना बुहारीहरुले निशुल्क शिक्षा पाएका छन् । यस शैक्षिक सत्रको स्नातक तहको प्रथम बर्षमा ५ जना बुहारीहरुले नाम लेखाएका छन् भने अन्य दोस्रो, तेस्रो र चौथो बर्षमा अध्ययनरत बुहारीहरु हुन ।

निशुल्क शिक्षा पाउनेहरुमा चन्द्रकला श्रेठ, धनरुपा कार्की, साकुन्तला भट्टराई, कमला पौडेल, शितल बुढाथोकी, इन्दिरा पौडेल, दुर्गा राजवंशी, जुनु गुरुङ र दिलमाया बस्नेत, यशोदा भट्टराई, गोमा कोइराला, सिम्रण श्रेष्ठ, समिता दाहाल र शोभादेवी घिमिरे रहेका छन् । यस अघि गाउँपालिका अध्यक्ष राजमती इङ्नामले अध्ययनरत बुहारीहरुलाई क्यामसको कार्यालयमा भेटी छलफल गरेका थिए ।

अहिले स्नातक तहको विए, विविएस र विएडमा २१० जना विद्यार्थी रहेका छन् । मानविकी, शिक्षा शात्र र वाणिज्य शात्रमा कक्षा ११ मा १३५ र कक्षा १२ मा १२० जना विद्यार्थी अध्ययनरत छन् ।

गाउँपालिका क्षेत्रभित्रका परिवारका बुहारीहरुलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गराउन यो कार्यक्रम ल्याइएको गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले बताए ।

कानेपोखरी गाउँपालिकाको बाह्रौं गाउँसभाले ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम सम्बन्धी नीति तथा कार्यक्रम पास गरेको थियो । परिवारमा सासू भए सासूले नभए एकासगोल परिवारका बुढी सासु, काकी सासु, बढीआमा सासु, आमाजु वा जेठानीले बुहारीलाई स्नातक तह अध्ययनको लागि क्याम्पस भर्ना गर्न स्वयं निवेदक भई जानुपर्ने व्यवस्था रहेको छ ।

गाउँपालिकाले यस क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रछात्राको भर्ना शुल्क १ हजार र मासिक शुल्क ४ सयको दरले प्रदान गर्दै आएकोछ ।

सम्बन्धित खवर