वन समूहको १७ लाख ५५ हजार घोटला प्रकरणमा कांग्रेसका बेलबारी नगर सभापति छत्र लिम्बु फरार

असार २१, बेलबारी । काठ अनियमिततामा अदालतले पक्राउ गर्न अनुमति दिएको पत्तो पाएपछि मोरङको बेलबारी–११ भाउन्नेमा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर लिम्बू फरार भएका छन् ।

अनियमितताको आरोप लागेका लिम्बू नेपाली कांग्रेस बेलबारीका नगर सभापति पनि हुन् ।

सामुदायिक वनको १७ लाख ५५ हजार मूल्य बराबरको ९ सय ५५ क्युबिकफिट काठ अनियमितता गरेको आरोपमा डिभिजन वन कार्यालय मोरङले १४ असारमा मोरङ अदालतमार्फत् पक्राउपुर्जी माग गरेको थियो ।

अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बू फरार भएका हुन् । फरार भएका लिम्बूलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्रचार गरेको छ । तर, प्रहरीले अहिलेसम्म लिम्बूलाई पक्राउ गर्न चासो देखाएको छैन ।

डिभिजन वन कार्यालयले सूचना चुहावट गराएको कारणले लिम्बू फरार भएको बुझिएको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरले सामुदायिक वनको काठ अनियमितता गर्ने लिम्बूको खोजी कार्य तीव्र बनाएको बताए ।

‘पक्राउपुर्जी जारी भएपछि हामीले पक्राउ गर्न प्रहरीलाई पनि पत्राचार गरेका छौं,’ उनले भने, ‘अहिले खोजीकार्य तीव्र बनाइएको छ ।’

डिभिजन वनले लिम्बूलाई सामुदायिक वनको काठ अनियमित तरिकाले बिक्री वितरण गरी आर्थिक हिनामिना गरेको मुद्दामा पक्राउपुर्जी जारी गरेको हो ।

डिभिजन वन कार्यालय मोरङले बनाएको छानबिन समितिको प्रतिवेदन अनुसार तामाङले सामुदायिक वन भित्रको घाटगद्दीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफू खुसी बिक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम अनियमिमता गरेको पाइएको छ ।

अध्यक्ष लिम्बुले विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

२०७९ साउनमा अध्यक्ष लिम्बूले वनको घाटगद्दीमा रहेको काठ उपभोक्तालाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यन्त्र कारोबार गर्ने र व्यापारीलाई बिक्री गरेको पाइएको छ ।

लिम्बूले कीर्ते कागजात बनाई विभिन्न उपभोक्ता तथा केही संस्थालाई काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । लिम्बूले प्रति क्युबिकफिट २ हजार देखि ३ हजार रुपैयाँसम्म बिक्री गरेको बुझिएको छ ।

अध्यक्ष लिम्बूले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन वन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो ।

डिभिजन वन कार्यालयले सब–डिभिजन कानेपोखरीका वन अधिकृत अलाउद्दीन मियाँको नेतृत्वको समिति निर्माण गरी छानबिन गरेको थियो । छानबिनको क्रममा अध्यक्ष लिम्बूले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अनियमितता गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

३ वर्षको कार्यकाल भए पनि लिम्बूले आफनो कार्यकालको म्याद सकिएको एक वर्ष पछाडिमात्रै साधारणसभा गराएका थिए । ४ वर्षमा ९ सय ८७ क्युबिकफिट लकडी बिक्री भएको देखिएको वन अधिकृत अलाउद्दीनले बताए ।

उनका अनुसार सखुवा (साल) ४२७ क्युबिकफिट, बोटधँएरो ३ सय क्युबिकफिट र अन्य प्रजातिको २६० क्युबिकफिट काठ बिक्री गरेका थिए ।

छानबिन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सब–डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिपेश मिश्रालाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको छ ।

मिश्राले अनुसन्धान गर्दै आएका छन् । अनुसन्धानपछि अभियोग लैजाने तयारी गरेको उनले बताए ।

‘जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिने काम पनि भइरहेको छ,’ वन अधिकृत मिश्राले भने, ‘अनुसन्धानपछि अभियोजन बनाएर सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा अभियोग लैजानेछौं ।’

अनियमितताको आरोप लागेका लिम्बूलाई डिभिजन वन कार्यालयले हाजिर जमानतमा छाडेको थियो ।

सम्बन्धित खवर