सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने खालका कार्यक्रम ल्याउनु पर्छ -अध्यक्ष इङ्नाम

असोज ६, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले ग्रामीण क्षेत्रमा बैंकको अभाव टारेका सहकारी संस्थाहरूले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने खालका कार्यक्रम ल्याउनु पर्ने बताएकी छिन् ।

शनिबार वडा नं. ७ स्थित बरगाछीमा रहेको जनमुखी साकोसको ३१ औँ साधारणसभा अध्यक्ष इङ्नामले सो कुरा बताएकी हुन । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका इङ्नामले साधारणसभाको उद्घाटन गर्दै सहकारी संस्थाले सदस्यलाई बित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेर ऋणको सदुपयोगमा चेतना वृद्धि गर्नुपर्ने बताउँदै अध्यक्ष इङ्नामले सहकारीहरूले आफ्नो लगानी कृषि उत्पादनमा लगाउनु पर्ने उल्लेख गरिन् । ऋणको सदुपयोग र अनुगमन गर्नु पर्नेमा जोडदिँदै अध्यक्ष इङ्नामले ऋणलाई सदुपयोग गरि आयआर्जनमा जोड्न आग्रह गरिन् । कानेपोखरी गाउँपालिकाले पालिकाको सहकारी ऐन असोज १९ गते पारित गर्ने निर्णय भएको पनि सुनाइन् ।

त्यस्तै कानेपोखरी ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले सहकारीले गरिवी निवारणमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे । संस्थाले गरेका कामको प्रशंसा गर्दै उनले समुदायलाई संस्थासँग जोड्न नयाँ खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि मोरङका उपाध्यक्ष सीता लामिछानेले राज्यले कानून निर्माण गर्दा समूदायमा आधारित सहकारीलाई हेरेर बनाउनु पर्ने बताइन् । उनीले ग्रामीण क्षेत्रमा ३१ वर्षसम्म समुदायमा आधारित भएर सहकारी संस्था सञ्चालन हुनु आफैमा गौरवको विषय भएको बताइन् ।

कार्यक्रममा ‘पूर्व सञ्चालक सम्मान’ बाट लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य यदुकुमार तिम्सिनालाई सम्मान गरिएको छ । यस्तै ऋण कारोवारमा उत्कृष्ट हुने ललितमाया आङ्दम्बे, गणेश देउजा र बचत तर्फ उत्कृष्ट कारोवार गर्ने दुर्गामाया मैनाली र रामबहादुर माझीलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमति इङ्नामले सम्मान र पुरस्कार प्रदान गरेको थियो ।

यसैगरी शेयर तर्फ उत्कृष्ट बद्रीप्रसाद कोइराला, ऐच्छिक वचत तर्फ उत्कृष्ट विमला पौडेल र दैनिक बचतकर्ताहरू मध्ये उत्कृष्ट सुसन्ना राईलाई पुरस्कृत गरिएको छ । साधारणसभाको अवसरमा शेयर सदस्यका छोराछोरीहरू मध्ये १२ कक्षामा सर्वोत्कृष्ट अंक ल्याउने २ जनालाई जनही २÷२ हजार नगद सहित पुरस्कृत गरियो । पुरस्कृत हुनेमा सौरभ दङ्गाल र आकृति रिमाल रहेका छन् । यस्तै बाल बचतकर्ताको पुरस्कार रोनिसा दाहालले पाए । उनीहरुलाई विशिष्ट अतिथिहरू वडाध्यक्ष मोहनप्रसाद अधिकारी र जिल्ला बचत संघका उपाध्यक्ष सीता लामिछानेले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

२०४९ सालमा स्थापना भएको जनमुखी बचत तथा ऋण सहकारी संस्थामा गत असार मसान्तसम्म १ हजार १८९ जना सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी १ करोड ७६ लाख ५१ हजार ५ सय रुपियाँ रहेको छ । यसैगरी ८ करोड १ लाख ९१ हजार ९७ रुपियाँ बचत निक्षेप रहेको सहकारी संस्थामा १ करोड ३३ लाख ७ हजार ६४१ रुपियाँ कोष हिसावमा रहेको छ ।

संस्थाले ८ करोड ९८ लाख ३४ हजार १ सय रुपियाँ ऋण लगानी गरेको छ । साधारणसभामा संस्थाका अध्यक्ष सञ्जीव खड्काले चालू आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गरे । २०७९÷०८० को प्रगति प्रतिवेदन सचिव पुष्कर बज्गाईँले प्रस्तुत गरेको साधारणसभामा संस्थाका कोषाध्यक्ष सञ्जीवकुमार गुरुङले गत आवको यथार्थ आय व्यय र चालू आवको अनुमानित आय ब्यय प्रस्तुत गरे ।

लेखा तथा सुपरिवेक्षण समितिका संयोजक मेनुका पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको साधारणसभाको उद्घाटन सत्रको कार्यक्रममा उपाध्यक्ष हरि कोइराला, त्रिभुनाथ नेपालले बोलेका थिए । साधारणसभाको बन्दसत्रले प्रस्तावित कार्ययोजना र अनुमानित आय ब्ययलाई संसोधन सहित पारित गरेको छ ।

सम्बन्धित खवर