३ मंसिर, कानेपोखरी । मोरङको कानेपोखरी –७ मा रहेको बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शनिबार जनकल्याण माविको प्राङ्गणमा सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । खानेपानीका अध्यक्ष हरि प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम रहेका थिए ।
सभामा आर्थिक वर्ष २०७९/२०८० को प्रगती प्रतिवेदन संस्थाका अध्यक्ष हरि प्रसाद पौड्यालले प्रस्तुत गरेका थिए । अध्यक्ष पौड्यालले खानेपानीको लागि मर्मत, सम्भार, पाइप जडान तथा अन्य खर्चकोलागि रकम जुटाउन सबैले चासो नराखे खानेपानीमा समस्या आउने बताए । उनले स्थानीय तहले रकमको सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै कोषाध्यक्ष भोलानाथ पराजुलीले आर्थिक वर्ष २०७९/२०८० को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/२०८१ को प्रस्तावित प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष पराजुलीले आर्थिक वर्ष २०७९/२०८० को यथार्थ आम्दानी र खर्च १ करोड ४५ लाख १८ हजार ४ सय ७३ रुपैया प्रस्तुत गरेका थिए । जस्मा बैंक मौज्दात ९२ लाख ५५ हजार २ सय ५२ रुपैया रहेको बितरित प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले आर्थिक वर्ष २०७९/२०८० मा ६६ हजार ३ सय २० मिटर पाइप लाइन विस्तार गरेको छ । बयरवन खानेपानीको पानी उपभोग गर्ने उपभोक्ता जम्मा १६ सय ३२ घरधुरी रहेको छ । संस्थामा सदस्य बनेर धारा जडान नगर्ने १३६७ जना सदस्य रहेका छन् । धारा जडान गर्दा जडान शुल्क ५ सय, मिटर शुल्क १३ सय ५० रुपैया र फेरुल शुल्क ११ सय लाग्ने संस्थाले जनाएको छ ।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा सदस्य तथा गाउँ कार्यपालिका सदस्य पदम कुमारी कार्की, वडा सदस्यहरु रुविना ताम्राकार विश्वकर्मा, जीतबहादुर लिम्बु , रमाइलो जनएकता साकोसका सहसचिव कुमार फुयल र आदर्श साकोसबाट सञ्जीव गुरुङ अतिथि रहेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष विजयगोपाल गडतौलाले गरेका थिए भने कार्यक्रम संचालन केदार राईले गरेका थिए ।