माघ १० गते, कानेपोखरी । भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग अन्तर्गत कानेपोखरी गाउँपालिकामा बसोवास गर्नेको विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना भएको छ ।
भूमी आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईंले एक अन्तरक्रिया कार्यक्रमसँगसँगै गाउँपालिकाको इकाई कार्यालयको उद्घाटन् गरेको हो । गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रियाकार्यक्रमा दलका प्रतिनिधि, कार्यपालिका सदस्यहरुसँगको अन्तरक्रियामा बोल्दै गुरागाईंले भूमि सम्बन्धी समस्या समाधान गर्न कसैले छेकेर नछेकीने र यो आयोगले आगामी जेठ सम्म समस्या समाधान गरेरै छोड्ने बताए ।
उनले अघिल्ला आयोगका अधुरा कामहरु समेत सम्पन्न गर्ने आयोगको काम रहने पनि प्रष्ट्याएका थिए । उनले भूमिहिन सुकुम्बासीका साथ साथै जोतभोग र पूर्जामा समस्या भएका सहितका अव्यस्थित बसोबासीहरुको समस्या समाधानको काम थालिने जनाए । काममा समस्या आएमा केन्द्रीय आयोग र सरकारको मन्त्री परिषदसम्म प्रतिवेदन पठाएर समाधान खोजिने उनले बताए । उनले सहभागिले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रमका गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले यस अघि वडाको जनप्रतिनिधिहरुले प्रत्येक वडामा लगत संकलन गरेर त्यो तथ्याङ केन्द्रमा पठाई सकेको बताए । आयोगलाई सहयोगको लागि वडा नंं १,२,३ र ५ मा एकएक जना र वडा नं. ४ मा ३ जना वडा नं.६ मा ४ जना र वडा नं. ७ मा २ जना गरी जम्मा १३ जना लगत संकलककर्ता नियुक्ती गरिसकेको बताए । समस्या समाधान गर्नका लागि गाउँपालिकाले २५ लाख, वडा नं. ७, ६ र ४ ले एक एक लाख छुटयाएको र त्यही रकमले कर्मचारीहरुलाई खर्च गरिने बताए ।
अन्तरक्रियामा उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्षहरु खड्ग बस्नेत र धनबहादुर राई लगाएत रहेका थिए । नेपाली कांग्रेसका गाउँ सभापति योगेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गाउँकमिटि अध्यक्ष भोला अधिकारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।