बाँतर समुदायले मनाए माघे सङ्क्रान्ति

पदमकुमार सरदार
माघ १ गते, बिराटनगर । इटहरी नगरपालिकामा बाँतर समुदायले विभिन्न कार्यक्रम आयोजना गरी माघी मनाएका छन् ।

इटहरी नगरपालिका–१३ स्थित खनाहारमा गैडसिंह बाबा मन्दिर समितिको आयोजनामा बाँतर समुदायहरुले आज धुमधामका साथ माघे सङ्क्रान्ति मनाएको हो ।

माघेसंक्रान्तिका दिन बाँतर समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउँका पैरजनहरुले तिलको लड्डु, भुजाको लड्डु, चिऊराको लड्डु र सुंगुरको बली दिई गेंड सिंहलाई सामुहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा जगदिस सरदार बाँतरले बताए ।

पूजा सम्पन्न भएपछि सवै पैरजन सदस्यहरुलाई प्रसादीको रुपमा सुगुरको मासु बाँड्ने र सरदार (मुखिया) को घरमा मासुको परिकार बनाई सामुहिक भोज खाने प्रचलन रहेको उनले जनाए । बाँतर जातिका मानिसहरुको इष्टदेव गेड सिंह सरदार हुन् । उनी चमत्कारी थिए । जहाँ दुःख हुन्छ, त्यहाँ सुख दिन उनी चमत्कारी रुपमा देखा पर्ने गर्थै । यस सम्बन्धमा एउटा भनाई प्रचलनमा छ ।

बाँतर समुदायका मानिसहरुले शिकार गर्ने क्रममा अषाढ मसान्तमा निल गाई मारेका थिए । त्यही निल गाई मारेकाले गौहत्या लाग्ने डरले महराज गेड सिंह सरदारको शरणमा पुगेर आफूहरुलाई गौहत्याको पापबाट मुक्त पार्नका लागि अषाढ १ गते गर्ने पूजालाई माघ १ गते बाँतर जातिले माघेसंत्रान्तिको अवसरमा पूज गर्न थालेको अर्का बाँतर जातिका अगुवा डा. सत्यनारायाण सरदारले बताए ।

बाँतरहरुलाई महराजले मृत गाईलाई सेतो कपडाले छोप्न लगाएका थिए । केहि समय पछि छोपेको कपडा उघारदा त निल गाई ठूलो सुगुरको रुपमा परिणत भयो र त्यसपछि गौहत्या नभइ सुगुर हत्या भएको पुष्टि भयो र बाँतर जातिलाई पापबाट इष्ट देव गेंड सिंह बाबाले मुक्त गरीदिएको उनको भनाई थियो ।

त्यही दिनदेखि महाराजलाई आफ्नो पुर्खाको रुपमा मानी अषाढ १ गते सुगुरको बली दिने प्रचलनको सुरुवात भएको हो । सोही दिन गरेको पूजा आजामा आफ्नो घरपरीवारमा सुख शान्तिको कामना गरी वर्षभरी राम्रो दिन रहोस भनी गेड सिंहको पूजा गरी गर्ने चलन रहेको गैडसिंह बाबा मन्दिर सुनसरी खनाहारका अध्यक्ष जोखन सरदारले बताए ।

बाँतर जातिका धर्म, संस्कृति संरक्षणका लागि इटहरी नगरपालिकाले सहयोग गर्ने मेयर हेमकर्ण पौडेलले प्रतिवद्धता व्यक्त गरे । बाँतर जातिका अगुवाहरुले जातीय पहिचानका लागि देखाएको उत्तसाह निकै नै सराहनीय रहेको उनले प्रशंसा गरे । माघेंसंत्रान्ति पूजासंगै बाँतर जातीको भेषभुषा झल्कने सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर