दुुवै मृगौला र क्यान्सर पीडितलाई हङकङ समाजको ठुलो आर्थिक सहयोग

मंसिर १४ गते, बयरवन । कानेपोखरी गाउँपालिका हङकङ समाज हङकङले गाउँपालिका क्षेत्र भित्रका दुई जना दुवै मृगौला पीडित र एक जना क्यान्सर पीडितलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

थप उपचारको सहयोग पुगोस भनेर हङकङ समाजले आइतबार पीडितको घरघर गई प्रत्येक जनालाई ३३ हजारको दरले आर्थिक सहयोग गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा कानेपोखरी गाउँपालिका हङकङ समाजका अध्यक्ष देवनन्द गुरुङ र सचिव अनोज रोक्काले रकम हस्तान्तर गरेका थिए ।

दुवै मृगौला पीडित कानेपोखरी–६ की ४५ बर्षीय फुलमाया तामाङलाई थप उपचारको लागि ३३ हजार, प्यारालाईसिस तथा दुवै मृगौला पीडित कानेपोखरी –३ की ३८ बर्षिय सरु लिम्बूको पनि थप उपचारको लागि ३३ हजार र घाटीको क्यान्सर पीडित कानेपोखरी–७ का ६२ बर्षिय प्रमेबहादुर गुरुङको उपचारमा सहयोगको लागि ३३ हजार रकम समाजका अध्यक्ष देवनन्द गुरुङ र सचिव अनोज रोक्काले रकम हस्तान्तर गरेका थिए ।

दुवै मृगौला पीडित पत्नी फुलमाया तामाङलाई ४६ वर्षीय भीमबहादुर तामाङले हप्तामा दुई पटक डायलोसिस गर्न साइकल मै बोकेर घरबाट ४३ किलोमिटर टाढा बिराटनगर सम्म पु¥याउँने र ल्याउने काम गरेको समाचारहरु सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्ने क्रम बढेको थियो । सोमबार र बिहीबार डायलोसिस गर्ने पालो राखेका छन् । दुबै मिर्गौला काम नलाग्ने भएपछि २० महिना यता फूलमाया विराटनगरको गोल्डेल अस्पतालमा नियमित उपचार गराइरहेका छन् ।

त्यसैगरी सरु लिम्बु एक बर्ष अघि देखि विरामी छन् । सामान्य विरामी देखि क्रमश विरामी जटिल बन्दै गएपछि पछिल्लो समयमा प्यारालाईसिस भएपछि लिम्बुको मृगौलामा समस्या आएको छिमेकी शैलेन्द्र थोक्लेनले बताए । दुईजनाको छोरीकी आमा समेत रहेकी सरुलाई अहिले उनका परिवारले उपचार गराई रहेको छन् ।त्यसैगरी घाँटीको क्यान्सर पीडित ६२ बर्षिय प्रमेबहादुर गुरुङको भक्तपुर क्यान्सर अस्पतालमा ९ महिना अघिदेखि उचार भैरहेको छ । १ कट्टा १७ धुरमा साढें ४ लाखमा १० धुर जग्गा बेचेर उपचारको लागि काठ्माडौं हिडेका गुरुङलाई उपचारमा रकमको अभाव भएको छ । रकमको अभाव भएपछि स्थानीयहरुले रकम संकलन गरी पटक पटक खर्च पठाई दिएको स्थानीय यशोधा राई बताउँछन् । डाक्टरले उपचार संम्भव हुने बताए पछि निको हुने आशा जागेको गुरुङको परिवारले जनाएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी प्रकास धिमाल र स्थानीय शैलेन्द्र थोक्लेन, चन्द्र खड्का र खिना दाहाल लगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर