कानेपोखरी गाउँपालिकाले कक्षा १ र बाल कक्षाका विद्यार्थीको परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिने

साउन ३० गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ र बाल कक्षामा भर्ना भएका विद्यार्थीको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएका छन् ।

चालु आर्थिक बर्ष २०७९÷०८० देखी लागु हुने गरी यसै शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुको परिवारलाई निःशुल्क विमा गरिदिने भएको हो । गाउँपालिकाको १२ औं गाउँ अधिवेशनले चालु आर्थिक बर्ष २०७९÷०८० मा स्वास्थ्य बिमा कार्यक्रमको लागि ५० लाख विनियोजन गरेको थियो ।

गाउँ कार्यपालिकाको साउन २४ गते बसेको बैठकले ‘कानेपोखरी गाउँपालिकाको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन कार्यविधि २०७९’ पारित गरेको थियो । स्वास्थ्य बिमा कस्ले, कस्तो अवस्थाका व्यक्तिहरुले पाउने भन्ने बारेमा गाउँपालिकाले सोमबार सूचना जारी गरेको छ ।

स्वास्थ्य स्वयंसेविका र बाल कक्षा शिक्षकका परिवारले पनि निःशुल्क स्वास्थ्य विमा पाउने भएका छन् । त्यसैगरी क्यान्सर लागेका, मृगौला प्रत्यारोपण वा डायलाइसिस गरिरहेका, सिक्लसेल एनिमिया लागेका, मुटु ओपन हार्ट सर्जरी गरेका, प्यारालाइसिस भएका र पार्किन्स रोग लागेका व्यक्तिको परिवारले पनि निशुल्क स्वास्थ्य बिमा पाउने भएका छन् ।

त्यसैगरी आफ्नो र एकासगोल परिवारका स्वामित्वमा जग्मा जमिन नभएका ऋषिदेव(मुसहर), सन्थाल, राजवंशी, धिमाल, मधेशी, मुस्लिम, दलित तथा अन्य सदस्यको परिवारले पनि निशुल्क स्वास्थ्य बिमा पाउने भएका छन् । तर ऐलानी वा पर्ती जग्गामा पक्की संरचना घर बनाई बसोबास गरी रहेका एकासगोलको परिवारभित्रका कुनै सदस्यले सरकारी वा सामुदायिक वा निजी स्तरमा मासिक बीस हजार बढी सेवा÷सुविधाको रकम भुक्तानी लिइरहेको परिवारले भने बिमा सेवा पाउने छैन ।

स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रकृयामा लान पालिकाको सवै वडामा पत्र पठाई सकेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । वडा कर्यालयहरुले कार्यविधिको अनुसूची १ मा व्यवस्था भएको ढाँचामा सूचना प्रकाशन गरी काम सुरु गर्नुपर्ने बताएका छन् ।

कानेपोखरी गाउँपालिकाको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०७९

सम्बन्धित खवर