सुकुम्बासीको तथ्यांङ् संकलन नगरको वडा नं. ४ र ८ मा पनि सुरु

माघ २१ गते, पथरी । ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले अघि सारेको कार्यक्रम अनुरुप मोरङको पथरीशनिश्चरे ४ मा लगत संकलनको काम सुरु गरिएको छ ।

वडाको किर्तिपुर बजार क्षेत्रबाट लगत संकलन कार्य अघि बढाएको छ । सो कार्यक्रममा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, नगरबाट गठित सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल समितिका संयोजक जहरमान लिम्बू सहितले आयोगले काम अघि बढाउने कार्य तथा फारम भर्ने तरिकाका बारेमा जानकारी गराए ।

वडा नम्बर ८ मा भएको स्थानीय अगुवाहरुको भेलाले बुधबार गुराँसचोक क्षेत्रबाट लगत संकलन कार्य थालिने निर्णय गरेको वडाध्यक्ष बाबुराम दहालले बताए । नगर प्रमुख दिलीपकुमार राईको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

वडा नम्बर १, २, ३, ७ र १० मा लगत संकलन कार्य सुरु भइसकेको छ । कँही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएको तथा ऐलानी जग्गा भोग गरेकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने हुन्छ ।

नगरमा बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना गरी १० वडाबाट ३,३ जनाका दरले कर्मचारी नियुक्त गरिएको छ । यसैबीच, नगरको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालयको प्रमुखमा सरोज भट्टलाई नगर कार्यपालिकाको बैठकले जिम्मेवारी दिएको छ ।

 

सम्बन्धित खवर