फागुन २८ गते, गौरीगञ्ज । नेकपा (एमाले) ले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान २०७९ अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिकामा आज बृहत्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कमिटीको तर्फबाट जारी मिसनका लागि प्रमुख अभियन्ताको रूपमा खटिनुभएका केन्द्रीय सदस्य युवराज बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममार्फत मिसनलाई टोल–टोल र तिनका घरद्वारसम्म लगिने योजना अघि सारिएको हो ।
दुई महिने अभियानमा निर्धारित जिम्मेवारी सहित अभियन्ताको रूपमा पार्टीको कोशी प्रदेश कमिटीको तर्फबाट खटिनुभएका नेताहरू भोजकुमारी नेपाल, शारदा पराजुली, श्याम ढकाल, केदारनाथ रिजाल, विष्णु न्यौपाने, हृदय ठाकुर र जिल्ला कमिटी सदस्यहरू नरेन्द्र भण्डारी, टीकाराम बस्नेत, मोनिका राई, कृष्ण महतोलगायतको उपस्थितिमा गाउँपालिका पार्टी कार्यालयको सभाकक्षमा सम्पन्न कार्यक्रममार्फत यस्तो सुक्ष्म र विषयगत निर्णय गरेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर कुँवरेले बताउनुभयो ।
अभियानको आवश्यकता, राजनीतिक–बैचारिक महत्त्व र अपेक्षित क्षेत्रमा अपेक्षित ढंगले उठान गर्नुपर्ने कामका सन्दर्भमा केन्द्रीय अभियन्ता युवराज बास्कोटाले उपस्थित नेता–कार्यकर्तामाझ समय लिएरै आफ्ना कुरा राख्नुभयो । एमालेविरुद्ध देशको समग्र शक्ति एक ठाउँम उभिएको प्रसङ उठाउँदै पार्टीको संगठनात्मक पक्षलाई संख्यामा होइन; कम्युनिष्ट आचरण, संस्कार, इमान र निष्ठाका हिसावले कार्यकर्ताको गुणमा क्षमता वृद्धि–अभिवृद्धि गर्नुपर्नेमा नेता बास्कोटाले जोड दिनुभएको सचिव राजकुमार राजवंशीले बताउनुभयो ।
नेता राजवंशीका अनुसार उस्तैउस्तै झण्डा भएका कारण कतिपय कम्युनिष्ट पार्टीकै नेतृत्वबाट कम्युनिष्ट आन्दोलन र संगठन बद्नाम भएको सन्दर्भ उठाउँदै नेता बास्कोटाले एमालेको संगठित सदस्य भएकोमा गर्वबोध गर्न सक्ने अवस्था बनाउनुपर्ने आजको आवश्यकता रहेको औंल्याउनुभएको छ ।
गाउँपालिका कमिटी इञ्चार्ज केदार ढुंगेलले प्रस्ताव गर्नुभएको कार्ययोजनाअनुसार आजैदेखि चैत्र ५ गते गौरीगञ्ज बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनमार्फत अखिलको बर्चस्व कायम गर्न पार्टीको सम्पूर्ण शक्ति लाग्नुपर्ने, चैतको पहिलो हप्तासम्ममा जनसंगठनको अभिमुखीकरण र गठन÷पूनर्गठन आयोजना गरिसक्नुपर्ने, दोस्रो हप्तासम्ममा वडा मातहतका टोल कमिटीले भेला आयोजना गरिसक्नुपर्ने, चैत्र २५ गतेसम्ममा पार्टी संगठित सदस्यता नवीकरण गरिसक्नुपर्ने, चैत्र मसान्तसम्ममा पूर्वजनप्रतिनिधिको भेला आयोजना गरिसक्नुपर्ने, चैत्रको तेस्रो हप्तामा पालिका संसदीय समितिको बैठक बस्नुपर्ने, चैत्र २६ गते पार्टी प्रवेश कार्यक्रममार्फत मिसनका उपलब्धीहरू सार्वजनिक गर्नुपर्ने कार्यक्रम रहेका छन् भने जनसंगठन सञ्चालन र गठन/पूनर्गठनका लागि युवा संघतर्फ शैलेष रिजाल, मुक्ति समाज नेपालतर्फ सुनिता पासवान, अनेरास्ववियुतर्फ ईस्तब आलाम, भूमि व्यवस्थापनतर्फ मुन्छी टुकु, आदिबासी जनजातीतर्फ लालदेउ राजवंशी, रिटर्नी फेडरेशनतर्फ भूपन राजवंशी, बुद्धिजीवीतर्फ जनार्दन ढकाल, मुस्लिम इत्तहादतर्फ मोहमद अलिया र किसान महासंघतर्फ नोरबबहादुर भण्डारीलाई जिम्मेवारी तोकिएको छ ।
इञ्चार्ज ढुंगेलका अनुसार पालिकाका ६ वटा वडामा क्रमशः भोजकुमारी नेपाल, गोविन्दबहादु कुँवर, राजकुमार राजवंशीलाई वडा नं. १, भोजकुमारी नेपाल, गोविन्दबहादु कुँवर र राधिका भट्टाराईलाई वडा नं. २, गेहनाथ पौडेल, पर्शुराम काफ्ले र कृष्ण महतोलाई वडा नं. ३, गेहनाथ पौडेल, केदार ढुंगेल र श्रवण गिरीलाई वडा नं. ४, गेहनाथ पौडेल, मञ्जु थापा र राजकुमार राजवंशीलाई वडा नं. ५ र गेहनाथ पौडेल, नगेन्द्र भण्डारी र श्रवण गिरीलाई वडा ६ को लागि जिम्मेवारी तोकिएको छ ।
अभियानअन्तर्गत सम्पन्न निर्वाचनको निर्मम समिक्षा गर्ने, निर्वाचनमा प्राप्त यसको तथ्यगत अवस्था निक्र्यौल गर्ने, पार्टी सदस्यको भौतिक उपस्थितिमै पार्टी सदस्यता नवीकरण गर्ने, विषयगत प्रशिक्षण चलाउने, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धमा सुमधुरता ल्याउने, पार्टी प्रवेश अभियान चलाउने, अभियानका लागि आमरूपमा जागरण ल्याउने, पार्टीप्रति आमनागरिकको अपेक्षाअनुसार संगठनात्मक जीवनमा सुधारका लागि आधारभूत तहका आमनागरिकको रायसुझाव लिइने कार्यक्रम रहेको अध्यक्ष कुँवरको भनाइँ छ ।
गाउँपालिका उपाध्यक्ष पूजन न्यौपानेका अनुसार आधारभूत तहका पार्टी सदस्यको वास्तविक अवस्था, तथ्यांक र समग्र पार्टीको अवस्था पत्ता लगाउनुपर्ने, परिवर्तित सन्दर्भमा आमनेता कार्यकर्तालाई राजनीतिक–बैचारिक र सैद्धान्तिक विषयोपर प्रशिक्षण सञ्चालन गर्नुपर्ने, स्थानीय तहमा उत्पन्न र हुन सक्ने अन्तर्विरोधको पहिचान गर्नुपर्ने, पार्टी र जनप्रतिनिधिको बैचारिक कार्यदिशाअनुरुप कार्यादेश तयार गर्नुपर्ने, पार्टीमा सम्भावनायुक्त अनुहारको पहिचान गर्ने, पुस्तान्तरणको वातावरण सिर्जना गर्ने र अन्ततः नेता–कार्यकर्ता र कार्यकर्तामा आधारित पार्टी निर्माणको प्रक्रियालाई अझ धेरै सुदृढ तुल्याउनुपर्ने आवश्यता रहेको औंल्याउनुभएको छ ।