सनम रोक्का, फागनु १९ गते, पथरी । आज विहिबारबाट सुरु हुने दोस्रो ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ सुरु हुँदैछ । लिगको लागि प्रस्तावित पथरी रंगशाला आयोजकले सवै तयारी पुरा गरेको छ ।
पथरीको जाँते मोडमा अतिथिहरुको स्वागतको लागि गेट निर्माण गरिएको छ, भने खेल मैदान सजाएर चिटिक्क पारिएको छ । खेलमैदानमा पाइपबाट पानी लगाउदै मैदानमा रोलर लगाएर खेलमैदान राम्रो बनाएको आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए ।
मैदानको माथिल्लो भागमा नेपालको झण्डा, खेलमा सहभागि आठवटा टिम, आयोजक समिति र टाइटल स्पन्सर इन्ट्राको लागो अंकित झण्डाहरु फहराइएको छ । गत बर्षदेखि सुरु भएको लिग खेलकुद क्षेत्रमा नगरपालिकाकै गौरवको कार्यक्रम हो । दोस्रो संस्करन लिग फागुन १९ मा सुरु भएर चैत्र ५ समापन हुनेछ ।
प्रतियोगितामा उपाधिको लागि विजेतालाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक संजिव गिरीले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने आयोजकले बताएका छन् ।
आज खेल उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघको मोरङ जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, केन्द्रीय सहसचिव बसन्त अर्याल, इन्ट्रा फाउण्डेशनको तर्फबाट चलचित्र कर्मी (नायक) रमित ढुङ्गाना, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ लगायतको उपस्थितिमा भब्य उद्घाटन हुने आयोजक समितिको सचिव मनि लिम्बूले बताए । लिगमा करिब २८ लाख ९२ हजार खर्चको अनुमान गरिएको समितिको कोषाध्यक्ष श्रीहाङ राईले बताए ।
पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा सुरु हुने प्रिमियर लिग दोस्रो संस्करणको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पन्सर गर्दैछ ।