भदौ १ गते, काठमाडौं । जनता समाजवासी पार्टी(जसपा) परित्याग गर्दै पूर्वमन्त्री हेमराज राई र विराटनगरका पूर्व उपमेयर भूराज राई नेकपा एमालेमै फर्किएका छन् ।
आज नेकपा एमाले केन्द्रीय कार्यालय आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री हेमराज राई, नेता भूराज राई लगायतका कार्यकर्तासहित १० वर्षपछि नेकपा एमालेमै फर्किएका हुन् ।
पार्टी प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर स्वागत गरे । सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकर बी सार्की पार्टी प्रवेश गरेका हुन् ।
१० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु एमाले प्रवेश गरेका छन् । हेमराज राई भोजपुरका पुराना कम्युनिष्ट नेता हुन् । भूराज राई नेकपा एमाले प्रवेश गरेपछि विराटनगरमा एमाले अझ सशक्त हुने आंकलन गरिएको छ ।