पथरीशनिश्चरे नगरसभाद्धारा १० वटा महत्वपूर्ण निर्णयहरु पारित, ६ महिनामा ८५ जोडिको सम्बन्ध विच्छेद

माघ १३ गते, पथरी । मोरङको पथरीशनिश्चरेको १२ औं नगर सभाबाट दुई वटा विधेयक र १० वटा महत्वपूर्ण निर्णयहरु पारित गरेको छ । नीति निर्माणको रुपमा लिइने हिउँदै अधिवेशनबाट उक्त महत्वपूर्ण निर्णयहरु पारित गरेको हो ।

नगरपालिकाकाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरसभाले पारित गरेको निर्णयहरु र पौष मसान्तसम्मको प्रगतिविवरण सार्वजनिक गरेको छ । नगरसभाबाट विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन र शिक्षा सम्बन्धी विधेयक पारित भएको विज्ञप्तिमा उल्लेख छ ।

पौष मसान्तसम्म चालुतर्फ ३९ र पुँजीगततर्फ १९ प्रतिशत खर्च भएको विज्ञप्तीमा उल्लेख छ । नगरसभाले सुकुम्बासीलाई जस्को जग्गामा बसेपनि जोतभोगको आधारमा धनीपुर्जा दिन संघ, प्रदेश सरकारलाई अनुरोध गर्ने, सुकुम्बासी बसेको जग्गाको राजस्व नगरपालिकाले नलिने, अध्ययन गरेर नगरमा सर्पदंशको उपचार केन्द्र स्थापनाको लागि पहल गर्ने निर्णय भएको छ ।

त्यसैगरी नयाँ स्थापना गरेको पूर्बी र पश्चिम बस स्टेनमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर क्षेत्रमा रहेको डाँस, सुनझोडा र बक्राहाको नदीजन्य पदार्थ छिमेकी पालिकाहरुले उत्खनन तथा बिक्री वितरण गरिरहेको बारे जिल्ला समन्वयसँग समन्वय गरेर सो कार्य रोक्न प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

ल्याण्डफिल्ड साईडको छिमेकी पालिकाहरुसँग समन्वय गरेर स्थानन्तरणको प्रयास थाल्ने, समस्या अध्ययन गरेर सेवाग्रहीले बिगत आर्थिक बर्षहरुको घर नक्सा पासको प्रतिलिपि उललब्ध गराउने लगायतको निर्णय भएको उल्लेख छ ।

पत्रकारहरुले सोधिएको प्रस्नहरुको जवाफ दिदै नगर प्रमुख तुम्बापोले गए आर्थिक बर्षमा भेटनरी व्यावसायीहरुले कर बृद्धि बारे गुनासो गरेपछि घटाइएको जानकारी दिए । पौष मसान्तसम्मको प्रस्तुत प्रगति विवरणमा नगर अधिवेशनले गए आर्थिक बर्षबाट पारित बजेट संशोधन गरिएको छ ।

नगर पालिकामा छ महिनामा १ हजार २ सय १ जनाको जन्म र ३ सय ५३ जनाको मृत्यु दर्ता भएको छ भने यस अवधिमा ५ सय ८१ जोडिको विवाह र ८५ जोडिको सम्बन्ध विच्छेद भएको विज्ञप्तीमा रहेको छ । वसाई जाने भन्दा पथरीशनिश्चरेमा आउनेको संख्या बढी छ । यो छ महिनामा ४ सय ४७ वटा घट्नामा १ हजार ३ सय ४ जनाले नगर छाडेका छन भने ७ सय १ वटा घट्नाबाट २ हजार ८६ जना नगरपालिकामा बसाई आएका छन् । प्रगति प्रतिवेदनमा ठेक्का र उपभोक्ता समिति मार्फत भइरहेको विकास निर्माण भई रहेको विवरणहरु उल्लेख छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेका थिए । प्रवक्ता नवीन कार्कीले विज्ञप्ति वाचन गरेर निर्णयहरु सार्वजनिक गरेका थिए । कार्यक्रम नगरको सूचना संयोजक सन्तोष राईले सञ्चालन गरेका थिए । नगर अघिवेशनको उद्घाटनमा नगरका कर्मचारी लुकनाथ पोख्रेललाई ३० हजार नगदसहित उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।

 

सम्बन्धित खवर