कानेपोखरीमा सुरक्षित नागरिक आवासको शिलान्यास, ३० घर निर्माण गरिने

चैत्र २४ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले सुरक्षित नागरिक आवास अन्तरगत ऋषिदेव समुदायको लागि ३० घर परिवारलाई घर निर्माण गरिदिने भएको छ ।

वडा नं. ३ स्थित राजगञ्जका १ घर चौधरी, १ घर पौदार र बाँकी सवै ऋषिदेव परिवार गरी जम्मा ३० घरलाई सुरक्षित नागरिक आवास निर्माण गरिदिने भएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारीले सुरक्षित आवासको शिलान्यास गरेको थियो । यस अधि सुरक्षित नागरिक आवास अन्तरगत वडा नं. २ को थानटोलीमा २५ घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिकेका छन् ।

कानेपोखरी गाउँपालिका र ह्याविट्याट फर ह्युम्यानिटी नेपालको साँझेदारीमा सुरक्षित आवास निर्माण सुरु भएको छ । सुरक्षित आवास निर्माणको कार्यान्वयन गर्ने संस्था भने साहारा नेपाल रहेको सोसल मुविलाईजर अफिसर वेद प्रसाद पौडेलले बताए ।

एक घर बराबर कानेपोखरी गाउँपालिकाको २ लाख २१ हजार ५ सय ३३ र ह्याविट्याट फर ह्युम्यानिटी नेपालको २ लाख र उपभोक्ताको जनश्रमदान ८६ हजार ३ सय ३८ गरी जम्मा ५ लाख ७ हजार ८ सय ७१ रुपैया खर्च लाग्ने गाउँपालिकाका इन्जिनियर रञ्जन निरौलाले बताए ।
३० वटा घर निर्माण सम्पन्नको लागि कानेपोखरी गाउँपालिकाको ६६ लाख ४५ हजार ९ सय ९० रुपैया र ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ६० लाख, उपभोक्ताको जनश्रमदान २५ लाख ९० हजार १ सय ४० रुपैया गरी जम्मा १ करोड ५२ लाख ३६ हजार १ सय ३० रुपैया खर्च लाग्ने छ । यसको सुरक्षित नागरिक आवास निर्माण उपभोक्ता समितिले २०७९ फागुन १२ गते सम्झौता गरेको छ । यो आवास २०८० को असार मसान्तमा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।चौडाई १८, लम्वाई २३ फिटको रहेको आवासमा २ वटा कोठा, ४ वटा भ्याल, ३ वटा ढोका, ११÷११ को किचन कोठा, लम्बाई १५ र चौडाई ६ फिटको रहेको बरण्डा एकतले जस्तापाताले छाएको घर र शौचालय निर्माण गर्न लागिएको इन्जिनियर निरौलाले बताए । निर्माण हुने लागेको ३० वटा घरहरु मध्ये १३ परिवारले दैनिक रोजगारी गरेर प्लटिङ्मा आफैले ६ बर्ष अघि ढेंड लाखमा प्रत्येकले एक कट्ठा घरेडी किनेका छन् भने बाँकी खोलाको डिल(पुरानै ठाउँ)मा आवास निर्माण गरिने छ ।

घरेडी किने पनि त्यो पैसा अझै सम्म चुक्क्त भएको छैन् । कलेसराज ऋषिदेवका अनुसार घरेडी किनेर झुप्रो घरमा बस्दै आएका थियौं, अहिले भगवानको रुपमा घर दिन गाउँपालिका आउनु भयो उहाँहरुको गुण कहिले विर्सने छैन ।

घर पाउनेहरुमा रामवनी मुसहर, अधिकलाल सतार मुसहर, कलेश्वर मुसहर, उतमा मुसहर, सुरज ऋषिदेव, कनैया ऋषिदेव, अकालु मुसहर, सुनिल मुसहर, रोहित कुमार मुसहर, बुधनारायण मुसहर, दिनेश मुसहर, सोमनी ऋषिदेव, मञ्जु विश्वकर्मा, फुस्सु ऋषिदेव, दयावती कुमारी ऋषिदेव, सोनु ऋषिदेव, जाम्री ऋषिदेव, कमला ऋषिदेव, लक्ष्मिकुमारी मुसहरनी, पोतो ऋषिदेव, अमेली मुसहर, विजय ऋषिदेव, जानुकी ऋषिदेव, फुदना ऋषिदेव, सविता कुमारी ऋषिदेव, अमित ऋषिदेव, मान बहादुर ऋषिदेव र चन्दन लाल पौदार रहेका छन् ।

शिलान्यास कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष गोपाल बहादुर कार्कीले गरेका थिए भने कार्यक्रम संचालन सहारा नेपालका नविन लामिछानेले गरेका थिए । कार्यक्रममा गाउँपालिका प्रवक्त तथा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत लगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर