साउन १५, बयरवन । मोरङ कानेपोखरी गाउँपालिका क्षेत्रमा डेंङ्गु भाइरसको संक्रमणको विरामी बढ्र्दै गएको छ । पालिकाको ‘कानेपोखरी अस्पताल’ मा ज्वरो आउने र टाउको दुख्ने विरामीहरु दिनानुदिन बद्दै गएको अस्पतालको तथ्याङ्कले देखाएको छ ।
४५ दिन यतामा मात्र ११६ जना डेंङ्गुको परीक्षण गरिएको थियो । जसमध्ये २९ जना पोजेटिप देखिएको अस्पतालका मेडिकल अफिसर अभिजित खड्काले बताए । २९ जना मध्ये ५ जना थप उपचारको लागि बाहिरको अस्पताल रिफर गरिएको छ । अहिले अस्पतालमा ५ वटा मात्र वेड रहेको छ । कहिले काही दिनमा १० देखी ११ जना विरामी वेड भर्ना भएर उपचार गरिरहेको अस्पतालको प्रशासन प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले जनाए ।
के हो डेङ्ंगु ?
एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।
एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।
डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।
बच्ने उपाय :
डेङ्ंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गरेर बच्न सकिने छ ।