सिरिजंगामा देशकै ठुलो च्याब्रुङ र सिलाम साक्माकाे स्तम्भ निर्माण हुने

१८ कात्र्तिक, पथरी । सिरिजंगा स्मृती धार्मिक वन समितिले देशकै ठुलो च्याब्रुङ र सिलाम साक्माकाे स्तम्भ निर्माण गरी स्थापना गर्ने तयारी गरेको छ ।

मोरङको पथरीशनिश्चरे–१० स्थित पथरी खोला पश्चिम तथा पूर्वपश्चिम राजमार्ग दक्षिणमा रहेको सिरिजंगा वनमा च्याब्रुङ र सिलाम साक्माकाे स्तम्भ निर्माण हुन लागेको हो । शुक्रबार पत्रकारहरुसँगको छलफलमा वन समितिले आगामीहुने आफ्नो कार्य योजनाको बारेमा बताएका थिए ।

सिरिजंगा स्मृती धार्मिक वन समितिले लिम्बुहरुको रितीरिवाज, संस्कृतीहरु झल्कीने खालका सबै प्रकारका सामाग्रीहरु स्थापन गर्ने बताएका छन् । च्याब्रुङ, सिलामसाक्मा, राष्ट्रिय विभूतीको प्रतिमा, धनुषकाड, तरवार, थुन्चे, खुर्पा लगाएत क्रमश राख्दै जाने समितिका अध्यक्ष डम्बर चोङबाङ बताउँछन् ।

समितिले प्रदेशकै नमूना पर्यटकीय स्थलको रुपमा विकास गरेर छुट्टै पहिचान बनाउन सुरु गरेको छ । सिरिजंगा स्मृती धार्मिक वनले १५.२१ हेक्टर जग्गा ओगटेको छ । ती मध्ये ७ हेक्टरमा पोखरी रहेको र त्यस पोखरीमा पर्यटक आकर्षण गर्न तत्काल ढुङ्गा संचालन गर्ने तयारी गरिरहेका छन् ।

त्यस स्थानमा यस अघि सिरिजंगा थेबेको प्रतिमा निर्माण गरिसकेका छन् भने तीन तलेको स्टीमेटमा एउटा ठुलो भवन, दक्षिण भागमा वनभोज खानेहरुको लागि टहरा निर्माण गरिसकेका छन् ।

छलफलमा वक्ताहरुले सिरिजंगा स्मृती धार्मिक वनमा समस्या भनेको पथरी खोला रहेको बताएका छन् । वन क्षेत्र खोलाले बर्षेनी कटान गर्ने, कटान गरेको क्षेत्र बजारतर्फबाट बस्तीले सुगुरको खोर बनाउने र पछि मान्छे बस्ने घर निर्माण गर्नाले समास्या भएको संस्थापक सदस्य धनप्रसाद साँवाले बताए । उनले खोलाको सरसफाई गरेर तत्काल घेराबार तथा वाल लगाए मात्र वन क्षेत्र जोगिने बताए ।

कार्यक्रममा सागर साम्बा, सागर साम्बा, रोषन मादेम्बा लिम्बु, मणी लम्फुवा लिम्बु लगाएका युवाहरुले स्रोत साधनको पहिचान गरी पर्यटकीय स्थललाई तत्काल संचालनमा ल्याउनुपर्ने बताएका छन् ।

किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृती धार्मिक वनले प्रत्येक बर्ष पुस १० गतेदेखि ३ दिने चासोक तङ्नाम कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

वनको पूर्वाधार विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा डिपिआर गरेर बजेटको लागि योजना लाने समितिका सचिव मानप्रसाद लिम्बुले बताए ।

सम्बन्धित खवर