असोज १४ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा वडाध्यक्ष नै कोरोना संक्रमित भएपछि पालिकाको २ नम्बर वडाकार्यालय बन्द भएको छ ।
वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीलाई पीसिआर टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि बुधबारदेखि वडाकार्यालय बन्द भएको हो । बुधबार गाउँपालिकाका विपत व्यवस्थापन समितिको बैठकले वडा नं. २ को कार्यालय असोज २० गते सम्म बन्द रहने निर्णय गरेको छ ।
बैठकले गाउँपालिका क्षेत्र भरीका साप्ताहिक र अर्धसाप्ताहिक हाटबजार पूर्णरुपले बन्द गर्ने, वडा नं. २ को कालिस्थान क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरु पनि बन्द रहने, वडाध्यक्षको सम्पर्कमा आउने व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्ने, घरबाट बाहिर ननिस्कने, भिडभाड नगर्ने जस्ता निर्णयहरु गरेका छन् ।
कानेपोखरी गाउँपालिकाको शिक्षा शाखको सूचना अनुसार विद्यार्थी सिकाई सहजिकरण कार्य वैकल्पिक विधि सबै विद्यालयले पालना गर्नुपर्ने निर्णय गरेको छ ।
स्वाब संकलन पछि पीसिआर टेष्ट गरिएको २४ जना मध्ये वडाध्यक्ष बुढाथोकीको मात्र पीसिआर रिपोर्ट पोजेटिभ आएको र वडाध्यक्षको सम्पर्कमा भएकाहरुको कन्ट्रयाक टे«सिङ सुरु गरिएको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।