लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

मंसिर २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज किर्तिपुर बजारमा कार्यक्रम सम्पन्न गरेको छ ।

‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सवैको ऐक्यवद्धता’ को मुल नारा सहित अभियानको अन्तिम दिनका रुपमा आयोजित कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राईले यसखाले हिंसा अन्त्य गर्न सवैको सहकार्य आवश्यक रहेको प्रष्ट्याएका थिए । कार्यक्रमकी प्रमुख अतिथि राईले महिलाहरुको थप जागरणबाट महिला हिंसा सहितका लैगिक हिंसा अन्त्य हुने जनाए ।

कार्यक्रममा नगरमा रहेर संघर्षपूर्ण रुपमा आफ्नो दैनिकी अघि बढाएर स्वनिर्भर वडा नम्बर ३ की आशा बराइली, ४ की हरिमाया राई, ७ की इन्द्रकुमारी राई, ८ की तीर्थकुमारी विष्ट, ९ की सन्दिपा धिमाल र १० की उमा विश्वकर्मालाई न्यानो कपडामार्फत सम्मान गरिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राई, वडा नम्बर १ का अध्यक्ष बाबुराम एङदेन, ७ का अध्यक्ष कपिलमणि ढकाल, समाजसेवी सीता रायामाझी, बाल अभियानकर्मी सञ्जिव भण्डारीले मन्तव्य राखेका थिए । सो अवसरमा कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, सर्जकहरु प्रेमकला घिमिरे र कल्पना मिश्रले कविता वाचन गरेका थिए ।

कार्यपालिका सदस्य अरुणा राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले औचित्य प्रकाश पार्नुभयो । कार्यक्रम शाखाकी विमला अधिकारीले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर