नेकपा एमाले मोरङ जेठ २ मै फर्कियो

भदौ १९ गते, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमाले मोरङ ०७५ जेठ २ को अवस्थामा फर्किएको छ ।

पार्टी पुरानै अवस्थामा फर्किएपछि अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल लगायतको पुरानै जिल्ला कमिटी क्रियाशिल भएको छ । यसअघि अध्यक्ष ढकाल एमाले प्रदेश १ सचिव, सचिव पोखरेलले एमाले मोरङ अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

शनिबार विराटनगरमा बसेको सचिवालय बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काइएको मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिए ।

सचिवालय बैठकले १० बुँदेलाई शनिबारबाटै पालिकाका वडास्तर सम्म कार्यन्वयनमा लैजाने निर्णय गरेको छ । मोर्चा विभाग प्रमुख खतिवडाले भने, ‘पार्टीलाई मूलभूत रुपमा जेठ २ मा फर्काउने र त्यही अनुसारको कमिटीहरु क्रियाशिल गरिने भएको छ ।’

सचिवालय बैठकले आगामी असोज मसान्त सम्म पार्टी सदस्यता नविकरण गरिसक्ने र कात्तिक ६ र ९ गते वडा र पालिका अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

सचिवालय बैठकका एमाले सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य, पोलिटव्युरो सदस्य लालबाबु पण्डित, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, गुरु बराल, शिवमाया तुम्वाहाम्फे लगायतको सहभागिता रहेको थियो ।

मोरङबाट १० बुँदे कार्यन्वयनको शुरुवात भएको एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले बताए । अन्य जिल्लामा पनि पार्टी पुरानै अवस्थमा फर्किएर क्रियाशिल बन्ने उनले बताए ।

सम्बन्धित खवर