सन्दर्भ : बाल दिवस २०८०
टाङ् टाङ् टुङ टुङ्
टाङ टाङ टुङ टुङ
घण्टी बज्यो भन्छन्
भन्छन् साथी
कलम छैन कापी छैन
स्कुल जानलाई ।
माथिको बाल गीत बाल दिवसका दिन आयोजित राष्ट्रिय व्यापी बाल गीत प्रतियोगितामा प्रथम भएको गीत हो ।
पहिले पहिले बाल दिवस आउदैछ है भन्ने सूचना रेडियो नेपालको बाल कार्यक्रमबाट थाह हुन्थ्यो । रेडियोमा बज्ने गर्दथ्यो “राष्ट्रिय बाल दिवसको अवसरमा भाद्र २, ३ र ४ गते रेडियो नेपाल, हातेमालो संचार र बाल विकास समाजको संयुक्त आयोजनामा राष्ट्र व्यापी बाल गीत प्रतियोगिता हुदैछ । कार्यक्रममा सहभागी हुन इच्छुक बालबालिकाले सम्बन्धित विधालयको सिफारिस लिएर आउनु पर्नेछ । बाल गीतको भाका, शव्द सिर्जना र संगित मौलिक हुनु पर्ने छ । “हो यसरी हरेक बाल दिवसमा राष्ट्रले नयाँ बाल गीत पाउने गर्दथ्यो । प्रतियोगितामा सहभागी हुन पाउनु पनि ठूलो गौरवको विषय हुने गथ्र्याे ।
जिल्ला जिल्लामा जिविस, नगरपालिका, गाउँ विकास समितिहरूले बाल दिवस भव्य रूपमा मनाउने गर्दथे । केन्द्रमा नेपाल बाल संगठन बाल मन्दिरले राष्ट्रिय संयोजक भएर बाल दिवस मनाउने गर्दथे । भाद्र ४ गते बिहानै प्रधानमन्त्रीले बालबालिकालाई बाल दिवसको शुभ कामना सन्देस दिने गर्दथे ।
हरेक जसो विधालयमा बाल दिवसको अवसर पारेर गीत संगीतको कार्यक्रम आयोजना गरिन्थ्यो । कतै कतै नाटक पनि मञ्चन हुने गर्दथे । म पहिलो पटक वि. सं २०५० सालको बाल दिवसमा सहभागी भएको राम्रोसंग याद छ । उक्त अवसरमा मैले कविता वाचन गरेको थिए । पछि पछि त मेरै नेतृत्वमा आफ्नै गाउँ ठाउमा धेरै बर्षहरूको बाल दिवस कार्यक्रमलाई संयोजन संचालन गरेको थिए ।
बाल दिवसको तयारी हाम्रो लगबग १५ दिन अघि देखि नै तयारी सुरू हुने गर्थे । बाल दिवसमा प्ले कार्ड सहित बयरवन बजार एक फन्का लगाउने गर्दथ्यौ । नजिकैको श्री जनता निमाविको प्रागणमा बाल दिवसको कार्यक्रम संचालन गरिन्थ्यो । दिनभरी बाल गीतहरू मात्र बजाईने गरिन्थ्यो ।
झोला बोकी सुनकेसरी
पढ्न स्कूल जाऊ
आजैदेखि सृजनाको
घाम जुन बोकी ल्याऊ
………………………….
साना साना आखा तर
सपना भरी भरी ……..
………………………………………..
प्रभा भेटवालको यो गीत हरेक ठाउ ठाउमा बज्ने गर्दथ्यो । साथै वडा वडामा गठन भएको बालक्लवहरूले पनि आफ्नै पारामा बाल दिवसलाई उत्सवको रूपमा मनाउने गर्दथे ।
मुमा वडा महारानी रत्नराज्य लक्ष्मीदेवी शाह सरकारको जन्म दिन भाद्र –४ गतेसंग जोडेर वि.सं.२०२१ सालबाट मनाउन सुरू गरिएको बाल दिवसलाई २०६२/२०६३ को जनआन्दोलन पछि हालको दिनमा भाद्र २९ गते मनाउने निर्णय सरकारबाट भएको पनि १७–१८ बर्ष भै सकेको छ । हरेक बर्ष बाल दिवसको नारा फेरिन्छ तर बालबालिकाको अवस्था हेर्यौ भने खै के खै के भन्न मन लाग्छ ।
यस पटक पनि बाल दिवसको नारा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने रहेको छ । तर नारा नारा मै सिमित रहने गर्दछ । बाल दिवसमा प्रतिद्धता हुनु पर्दछ । बालबालिकाका हरेक क्षेत्रमा बाल मैत्री व्यवहार हुनु पर्ने हो विडम्वना हाम्रो गाउपालिकामा एउटा पनि सार्वजानिक पुस्तकालय छैन् अझ बाल पुस्तकालय त कहाँ हुनु । केहि बर्ष पहिले राज्यले बालबालिका शिर्षकमा १० प्रतिशत बजेट छुट्याउने गर्दथे । बालक्लव गतिविधिलाई आर्थिक सहयोग पनि हुने गथ्र्याे तर आजको दिनमा यी सबै हराएका छन् । बालबालिकामा लगानी गर्नु भनेको गौरवको विषय पनि हो । बालबालिका राष्ट्रका गौरव हुन् ।
अत : बाल दिवसलाई एक दिनको औपचारिकता पुरा गरि हालौ न भन्ने मात्र नसोचेर बालबालिकामा लगानी गरौ र सार्थक कामको थालनी गरौ ।