पाँचौ झापा गोल्ड फागुन २१ गतेदेखी हुने, विजेताले १२ लाख ५५ हजार पाउने

फागुन ५ गते, बिर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडमा हुदैछ ।

बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुन लागेको हो । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई ९ हजार ९ सय ९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लब सहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन झापा गोल्डकप आयोजना गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । कोषाध्यक्ष केदार गिरीका अनुसार यो वर्ष पनि पुरस्कारहरु अघिल्लो वर्षकै कायम गरिएको छ ।

अघिल्लो वर्षजस्तै पाँचौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिने अध्यक्ष बस्नेतले बताए । त्यस्तै, यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने भएको छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

सम्बन्धित खवर