आरोहण गुरुकुलमा ‘मुनामदन’ ले दर्शकको मन जित्दै

असोज ८, विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ ।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो । हरेक दिन तीन शो मञ्चन भइरहेको नाटकको बुकिङ धमाधम भइरहेको आयोजकले जनाएको छ ।

मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवासाहित्यकार कटवाल दीपकले गरेका हुन् । कलेज र विद्यालयहरूले अग्रिम शो बुकिङ गरिरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।

नाटकका सबै कलाकार विद्यार्थी हुन् । युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न मञ्चले प्रेरित गर्दै आएको छ ।

मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् । नाटकमा तिनै विद्यार्थीले अभिनय गरेका छन् । यस अगाडी पनि यो नाटक विराटनगर, काठमाडौ, पोखरा र विराटचोकमा मञ्चन भइसकेको थियो ।

दर्शकले नाटक मन पराएको बताउँदै मञ्चका अध्यक्ष कटवाल दीपकले भने, ‘उति बेला युवाहरू रोजगारीको खोजीमा ल्हासा जान्थे, अहिले खाडी जान्छन्, पीडा उस्तै छ ।’

देवकोटाको सबैभन्दा चर्चित र लोकप्रिय कृति हो मुनामदन । ‘आफ्ना सबै कृति जलाइदिए पनि मुनामदन चाहिं नजलाउदिनू’ भनेर देवकोटाले प्राण त्यागेका थिए ।

नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राइ, रस्मी थापा, सुजता थापा, अतित निरौला, प्रदिप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृती थापा, सचिन लिम्बु, लिला लिम्बु र मलिना तामाङको अभिनय रहेको छ । नाटक असोज १६ गतेसम्म मञ्चन हुनेछ ।

सम्बन्धित खवर