संक्रमितको संख्या पुनः बढ्न थालेपछि स्वास्थ्य सजकता अपनाउन अनुरोध

साउन ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेपछि नगरपालिकाले थप स्वास्थ्य सजकता अपनाउन नगरवासीमा अनुरोध गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले कोरोना संक्रमितको संख्या बढेको तथ्यांक आएपछि नगरवासीमा अनिवार्य मास्क लगाई भिडभाड नगरी भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने बारेमा बताएका थिए ।

व्यवसायीहरुले पनि आफ्नो पसल एवम् व्यवसाय सञ्चालनका क्रममा मास्क, भौतिक दूरी कायम गराएर सेनिटाइजरको व्यवस्थापन गर्दै व्यवसायी र सेवाग्राही दुवै पक्षले सजकता अपनाउनु बाहेकको विकल्प नरहने उनले जनाए । कोरोनाको खोप सरकारले क्रमिक रुपमा व्यवस्थापन गर्ने भएपनि स्वास्थ्य सतर्कता अपनाउने कुरा कसैले भुल्न नहुने पनि वताए ।

हिजो संकलन भएको ८८ जनाको स्वाबको पीसीआर परीक्षणमा ६० जनामा कोरोना संक्रमणको देखिएको रिपोर्ट आएको स्वास्थ्य शाखाले जनाएको छ । गत चैतयता हालसम्म १ हजार ३ सय ७२ जनाको पीसीआर परीक्षणमा ५ सय ५९ जनामा र ४ सय ३२ जनाको एन्टिजिन परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट २ दर्जनको संख्यामा नगरवासीको मृत्यु भएको छ ।

सम्बन्धित खवर