जुन फोटोले चिनायो, त्यसैले सिध्यायो (केविन कार्टरको कथा)

फोटो पत्रकारिताको सबैभन्दा प्रतिष्ठित ‘पुलित्जर पुरस्कार’ जितेका फोटो पत्रकार थिए केविन कार्टर । एक समय विश्वमा उनी चर्चाको शिखरमा थिए । पछि कार्टर आत्महत्या गर्न बाध्य भए । करिब ३३ वर्षको उमेरमा उनले कार्वन–मोनोअक्साइड विष पिएर आफ्नो जीवन समाप्त गरेका थिए ।

केविन कार्टरको जन्म सन् १९६० मा दक्षिण अफ्रिकाको जोहानिसवर्गमा भएको थियो । उनी एक रोमन क्याथोलिक परिवारका थिए । उनकी आमाको नाम रोमा थियो भने बुवाको नाम जिम्म थियो । उनको बालापन जोहानिसवर्गको पार्कमोरेमा बित्यो ।

सानै उमेरमा उनले रंगभेदी घटनाहरू देखेका थिए । कार्टर यस्तो देखेर सधैँ आक्रोशित हुन्थे । उनी आफ्ना बुवालाई सोध्थे– हामी विभेदविरुद्ध किन केही गर्न सक्दैनौँ ?

यस्तै प्रश्न मनमा खेलाउँदै उनी ठूलो भए । र, दक्षिण अफ्रिकी डिफेन्स फोर्समा सामेल भए । त्यहाँ उनले देखे, रंगभेद कति गहिरोसँग गढेको छ । एकपल्ट अश्वेत व्यक्तिको साथ दिँदा सहकर्मीले उनलाई ‘अश्वेतहरूलाई प्रेम गर्ने’ भनेर नराम्रोसित कुटेका थिए ।

जीवन सिध्याउने फोटो

कार्टरले आखिर आत्महत्या किन गरे ? यसबारे थाहा पाउन एउटा फोटोको किस्सा कोट्याउनुपर्ने हुन्छ ।

एक बच्चाको बुवा केविन कार्टर डेली मेलमा काम गर्थे । त्यो बेला उनलाई भोकमरीको सिकार सुडानमा जारी विद्रोही आन्दोलनबारे थाहा भयो । उनी एक हप्ताको छुट्टी लिएर सुडानतिर हानिए ।

कार्टर घुम्दै तस्वीरहरू लिइरहेका थिए । यही बेला उनले झाडीबाट केही हल्लिएको आवाज सुने । उनी त्यतैतिर गए, जहाँ एक बच्चीलाई देखे । उनी एकदमै संकटमा थिइन् । आफू बसेको ठाउँबाट यताउती चल्न खोज्दै थिइन् । घिस्रिएर फीडर सेन्टरसम्म जाने कोसिस गरिरहेकी थिइन् ।

अझ डरलाग्दो त के भने, ती बच्चीको पछाडि गिद्ध ढुकिरहेको थियो । कार्टरले यो दृश्यलाई क्यामेरामा कैद गरे । पछि उनले गिद्धलाई भगाइदिए ।

यो तस्वीरबारे कार्टरले एक अन्तर्वार्ताका क्रममा भनेका थिए, तस्वीर लिएलगत्तै उनी लामो समयसम्म रुखको फेदमा बसेर रोएका थिए ।

तस्वीरले जितायो पुलित्जर तर..

२६ मार्च १९९३ मा न्युयोर्क टाइम्सले आफ्नो अखबारमा पहिलोपल्ट यो मार्मिक तस्वीर छाप्यो । यो तस्वीर पत्रिकामा आएपछि ‘अफ्रिकी पीडा’को आइकोन बनेको थियो । यसपछि करिब हरेक अखबारमा छापिएको यो फोटोले सुडानको हालतबारे संसारकै ध्यान खिचेको थियो ।

भनिन्छ, यो तस्वीरबारे हजारौँ मानिसले टाइम्सलाई पत्र पठाए, बच्चीलाई के भयो ? के बच्ची फीडर सेन्टरसम्म पुग्न पाइन् ?

अप्रिल १९९४ मा कार्टरले यही तस्वीरका लागि पुलित्जर पुरस्कार जिते । यति ठूलो पुरस्कार जितेको केही दिन उनी निकै खुसी थिए । किनकि आफ्नो काममा यसअघि यति ठूलो सम्मान उनले पाएका थिएनन् । अर्कातिर यो तस्वीरलाई लिएर मानिसहरूले नैतिकताको प्रश्न उठाए । कार्टरले बच्चीलाई बचाउनुको साटो फोटो खिच्नुलाई बढी महत्त्वपूर्ण ठानेको आरोप उनीहरूले लगाए । यसपछि कार्टर धेरै निराश बने । जबकि, फोटो लिएपछि उनले गिद्धलाई धपाएका थिए ।

यही तनावका कारण उनी नशाको लतमा फसे । उनको निजी जीवनमा धेरै हैरानीहरू थपिँदै गएका थिए । २७ जुलाई, १९९४, उनको जीवनको अन्तिम दिन बन्यो । आफूले बालापनमा खेल्ने गरेको एक रुखमुनि गएर उनले कार्वन–मोनोअक्साइड विष पिएर आत्महत्या गरे ।

कार्टले आफ्नो सुसाइड नोटमा लेखेका थिए, उनी धेरै निराश छन् । लास, भोकमरी, घाइते बच्चा, चोटलगायतका तस्वीरले उनलाई सताइरहेका थिए ।

 

सम्बन्धित खवर