माघ २० गते, पथरी । नेकपा एमालेको जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले पथरी बजारमा सरकार विरुद्ध विरोध सभा गरेको छ ।
बुधबार रत्न चोकबाट व्यानर र प्लेकार्ड सहित सरकार विरुद्ध नारा लगाउँदै पथरी बजार परिक्रमा गरी जाँतेमोडको चोकमा कोण सभा गरेको हो । नेपालको भारतद्वारा अतिक्रमित लिपुलेकमा भारतले जारी राखेको सडक निर्माण कार्य अविलम्व बन्द गर, स्थानीय निकायको निर्वाचन यथासमयमा गर्न, पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्य बृद्धि तत्काल फिर्ता गर्न, अपराधिक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई तत्काल कारबाही गर्न माग गरेका थिए ।
कोण सभालाई नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटाले आमजनताले अबको निर्वाचनबाट उन्नत समाजवादको मोडेल विकास गर्ने औंल्याउँदै कांग्रेसको रूखमा झुसुल्किरा लागेर हरियो पात झरिसकेकोले यो कांग्रेसको रूखबाट सचेत रहन र टाढा रहन समेत आग्रह गरेका थिए । त्यसैगरी राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रदेश नं १ का उप सचिव मणि लुम्फुवा लिम्बूले संविधानको रक्षाका लागि सरकारले स्थानीय तहको चुनाव गराउनु पर्ने बताए ।
कार्यक्रममा यूवा संघका पूर्व केन्द्रीय सदस्य सञ्जिव गिरी तथा भक्त राई र एमाले नेता यामप्रसाद गुरागाई, अनेरास्ववियुका केद्रिय सदस्य नीता राई लगायतको उपस्थिति रहेको थियो । नगर अध्यक्ष किसान चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रममा संचालन नविन कार्कीले गरेका थिए ।